
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ।

बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको छ।

यता, बिहीबार चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ४ हजार ३ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ४ हजार १ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमयदर तथा अन्य बजारगत परिस्थितिले नेपालमा सुनचाँदीको मूल्य निर्धारणमा प्रभाव पार्ने गर्छ।





























