
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित सुप समावेशी आधारभूत विद्यालयलाई एनएमबी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ३ लाख ३० हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री हस्तान्तरण गरेको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको आवश्यकता, सुविधा तथा शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले बैंकले आवासका लागि ४० थान पलङ, ३० थान कम्बल, जाडो मौसममा प्रयोग गर्न विद्यार्थीका लागि ९० थान ट्र्याकसुटलगायत सामग्री प्रदान गरेको हो। बैंकले कक्षाकोठाका लागि कार्पेट, कुसन, ह्वाइटबोर्ड, डाइपर, स्यानिटरी प्याडलगायत आवश्यक सामग्रीसमेत हस्तान्तरण गरेको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णा देवी बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा एनएमबी बैंक लिमिटेडका क्षेत्रीय कार्यालय प्रमुख बिरु राज जैसी, अत्तरिया शाखा प्रमुख गणेशप्रसाद जोशी, गोदावरी नगरपालिका–२ का वडा सदस्य डबल बहादुर साउद, दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिदत्त भट्टराई, समाजसेवी यशोदा भट्ट, अत्तरिया ट्राफिक प्रहरी कार्यालयका मणिराज भट्टलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगर प्रमुख भट्टले सुप समावेशी आधारभूत विद्यालयको विकास र विद्यार्थीको जीवनस्तर सुधारका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए। अपाङ्गता भएका विद्यार्थीलाई समावेशी शिक्षाको अवसर प्रदान गर्दै आएको विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि स्थानीय सरकार, अन्य सरकारी निकाय र सहयोगी संस्थासँग सहकार्य गरेर अघि बढिरहेको उनले उल्लेख गरे।
नगर प्रमुख भट्टले गोदावरी नगरपालिकाभित्रका ५४ वटै विद्यालयको शैक्षिक सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। “गोदावरीमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। आवश्यकताका आधारमा बजेट विनियोजन गर्दै विद्यालयका पूर्वाधार र सेवामा रहेका अभाव क्रमशः पूर्ति गर्दै आएका छौँ,” उनले भने।
उनका अनुसार सामुदायिक विद्यालयमा विषयगत शिक्षकको आवश्यकता पूरा गर्न नगरपालिकाले १६७ जना नगर शिक्षक परिचालन गरेको छ। पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर र विद्यार्थीको प्रगतिमा सकारात्मक सुधार ल्याउने उद्देश्यले नगरपालिका अघि बढिरहेको उनले बताए। आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र प्रभावकारी स्वास्थ्य सेवाका लागि आवश्यक स्रोतसाधन जुटाउँदै नागरिकको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
त्यसैगरी, एनएमबी बैंक लिमिटेडका क्षेत्रीय कार्यालय प्रमुख जैसीले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई आवश्यक सामग्री सहयोग गरेको बताए। बैंकले यसअघि पनि दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयलगायत विभिन्न विद्यालय तथा संस्थालाई सहयोग गर्दै आएको उनले जानकारी दिए।
कार्यक्रमकै अवसरमा विद्यालयमा दुई वर्षभन्दा बढी समय शिक्षण सेवा प्रदान गरेका शिक्षक जयराज बडूलाई टीका तथा दोसल्ला ओढाएर सम्मानसहित बिदाइ गरिएको थियो। साथै, दसैँको पूर्वसन्ध्यामा विद्यार्थीलाई बिदाको गृहकार्य प्रदान गर्नुका साथै त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले पुरस्कार वितरण गरेका थिए।
विद्यालयका प्रधानाध्यापक मानबहादुर साउदले विद्यालयको आवश्यकता पूरा गर्न सहयोग गरेकोमा एनएमबी बैंक लिमिटेड, गोदावरी नगरपालिका तथा अन्य सहयोगी संस्थाप्रति आभार व्यक्त गरे। यस्ता सहयोगले विद्यार्थीको दैनिक जीवन सहज बनाउन र विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



































