
अत्तरिया: सुदूरपश्चिम प्रदेश भलिबल संघले तीन जनालाई मनोनित गरेको छ । कार्यसमितिलाई पुर्णता दिनका लागि बिहिबार ३ जनालाई समितिमा मनोनित गरेको हो ।


प्रदेश अध्यक्ष देवराज भट्टको अध्यक्षतामा बिहिबार बसेको भेलाले २ जना उपाध्यक्ष र १ जना सदस्य मनोनित गरेको संघका महासचिव सन्तोष भट्टले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा कैलालीको गोदावरी नगरपालिका– १ का निरज शाह र बैतडीको मेलौली – ४ का शंकर सिँह भण्डारी (सागर) रहेका छन् । यस्तै गोदावरी– १ का भुपाल सिँह भाट सदस्यमा मनोनित भएको उनले बताए ।

प्रदेश अध्यक्ष देवराज भट्टले कार्यसमितिलाई पुर्णता दिनका लागि ३ जनालाई मनोनित गरिएको बताए । उनका अनुसार केही दिन अघि प्रदेशको अधिवेशनबाट ८ जना निर्वाचित भएका थिए । कुल १५ सदस्यीय समितिमा ३ जना मनोनित गरिएपनि अझै ४ जना मनोनित गर्न बाँकी रहेको उनले बताए ।

उनका अनुसार एक जना सचिव र एक जना सदस्य प्रदेश समितिले मनोनित गर्नेछ भने २ जना सदस्य प्रदेश खेलकुद परिषद्ले सिफारिस गरेर पठाउनेछ । अध्यक्ष भट्टले सुदूरपश्चिममा भलिबलको विकासका लागि मनोनित पदाधिकारीहरु दत्तचित्त भएर लाग्ने विश्वास व्यक्त गरे ।
मनोनित सदस्यहरुको बिहिबार नै सपथ ग्रहण गरिएको छ ।


























