गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी हटाउन अध्यादेश ल्याउने तयारीको आरोप, विद्यार्थी संगठनद्वारा विरोध

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी हटाउने उद्देश्यले अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको भन्दै सुदूरपश्चिमका विद्यार्थी संगठनहरूले विरोध जनाएका छन्।

CP Hospital Dhangadhi

अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति र अनेरास्ववियु सुदूरपश्चिम प्रदेश समितिले बुधबार जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको स्वायत्तता, संस्थागत स्थायित्व र शैक्षिक विकासमा प्रतिकूल असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गरेका हुन्।

विद्यार्थी संगठनहरूले विश्वविद्यालयको संरचना, नेतृत्व र अधिकारमा हस्तक्षेप गर्ने गरी अध्यादेशमार्फत ऐन संशोधन गर्ने प्रयास नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विश्वविद्यालयका लागि निर्धारण गरिएको ९० सिट कुनै पनि बहानामा बढाउने, घटाउने वा कटौती तथा खारेज गर्ने काम नगर्नसमेत माग गरेका छन्।

ज्ञापनपत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना सुदूरपश्चिम प्रदेशका जनताको दशकौँदेखिको संघर्ष, प्रतिभा र आकांक्षाको प्रतिफल भएको उल्लेख गरिएको छ। लामो प्रयास र निरन्तर संघर्षपछि विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनका लागि पाएको अवसरलाई कमजोर बनाउने कुनै पनि निर्णय स्वीकार्य नहुने विद्यार्थी संगठनहरूको भनाइ छ।

ज्ञापनपत्रअनुसार २०८३ असोज ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले एमबीबीएसलगायत स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रमका लागि कुल ९० सिट निर्धारण गरेको थियो। उक्त निर्णयलाई विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

विद्यार्थी संगठनहरूले विश्वविद्यालयको स्वायत्तता कायम राख्दै निर्धारित शैक्षिक कार्यक्रम र सिट सुनिश्चित गर्न तथा संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न सरकारसँग माग गरेका छन्।