आईपीएल २०२७ अक्सनमा १० नेपालीसहित १ हजार २२० खेलाडीको दर्ता, ६६ स्थानका लागि प्रतिस्पर्धा

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सनका लागि नेपालका १० खेलाडीसहित विश्वभरबाट १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी समेटिएका छन्।

CP Hospital Dhangadhi

१० फ्रेन्चाइज टोलीमा जम्मा ६६ खेलाडीको स्थान खाली रहेकाले अक्सनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि छुट्याइएको छ।

विदेशी खेलाडीको दर्तामा अस्ट्रेलिया ५३ जनासहित पहिलो स्थानमा छ। दक्षिण अफ्रिकाबाट ४०, वेस्ट इन्डिजबाट ३६, न्युजिल्यान्डबाट २५ र अफगानिस्तानबाट २३ खेलाडीले नाम दर्ता गराएका छन्। नेपालबाट भने १० खेलाडी अक्सनको प्रारम्भिक सूचीमा परेका छन्।

अक्सनअघि नै १० टोलीले १८४ खेलाडीलाई कायम राखेका वा अनुबन्ध गरिसकेका छन्। उनीहरूमध्ये ५५ विदेशी खेलाडी छन्। फ्रेन्चाइज टोलीहरूसँग खेलाडी खरिदका लागि अब २९५ करोड ६० लाख भारतीय रुपैयाँ बजेट बाँकी छ।

प्रारम्भिक सूचीमा १८४ क्याप्ड, ९९४ अनक्याप्ड र एसोसिएट राष्ट्रका ४२ खेलाडी छन्। नाम दर्ता गराएका सबै खेलाडी अक्सनमा सहभागी हुन पाउने छैनन्। फ्रेन्चाइज टोलीको छनोटपछि बीसीसीआईले डिसेम्बर ४, २०२६ मा अन्तिम सूची सार्वजनिक गर्नेछ।