माया मेट्रो अस्पतालको मानवीय पहल : एक वर्षमा १४० भन्दा बढी निःशुल्क फिस्टुला शल्यक्रिया, डा. सुमित कर्ण सम्मानित

Image
Nisarga Hospital

धनगढी : कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल प्रा.लि.ले स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा १४० भन्दा बढी मिर्गौलाका बिरामीको निःशुल्क एभी फिस्टुला शल्यक्रिया गरेको छ।

CP Hospital Dhangadhi

आर्थिक अवस्था कमजोर भएका तथा उपचारमा आर्थिक सहयोग आवश्यक पर्ने मिर्गौलाका बिरामीलाई लक्षित गरी अस्पतालले उक्त सेवा निःशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ। नियमित डायलाइसिस गराउनुपर्ने बिरामीका लागि अत्यावश्यक मानिने एभी फिस्टुला शल्यक्रियाले उनीहरूको उपचार प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको छ।

अस्पतालले सञ्चालन गरेको यस सेवामूलक अभियानमार्फत आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका धेरै बिरामी लाभान्वित भएका छन्। स्वास्थ्य उपचारलाई नाफामुखी सेवामा मात्र सीमित नराखी मानवीय सेवाका रूपमा अघि बढाउने उद्देश्यले अस्पतालले यस्तो पहल गरेको जनाएको छ।

यस मानवीय तथा सेवामूलक कार्यमा विशेष योगदान पुर्‍याएको भन्दै माया मेट्रो अस्पतालका कन्सल्टेन्ट युरोलोजिस्ट डा. सुमित कर्णलाई अस्पतालले प्रशंसापत्रसहित सम्मान गरेको छ।

अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले डा. कर्णलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्। अस्पतालले डा. कर्णको व्यावसायिक दक्षता, सेवाप्रतिको समर्पण, जिम्मेवारीबोध र बिरामीप्रतिको सेवाभावको प्रशंसा गरेको छ।

अस्पतालले आगामी दिनमा पनि सुदूरपश्चिम प्रदेशका नागरिकलाई आधुनिक प्रविधिसहित गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मिर्गौलाका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आएको माया मेट्रो अस्पतालको यो पहललाई स्वास्थ्य सेवामा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरणका रूपमा हेरिएको छ।