
धनगढी: पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा सञ्चारमाध्यममाथि विभिन्न किसिमका दबाब सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघ कैलाली शाखाले विरोध प्रदर्शन गरेको छ।

महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रमअन्तर्गत बुधबार बिहान पत्रकारहरू जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि भेला भएर विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गर्दै सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको धरपकड तथा दबाबको विरोध गरेका थिए।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाका अनुसार पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारलाई लक्षित गरी विभिन्न प्रकारका गतिविधि भइरहेको भन्दै त्यसको विरोधमा आन्दोलन गर्नुपरेको हो।
उनले मिडिया हाउसको गेटमा गाडी तेर्स्याएर आवागमन अवरुद्ध गर्ने, सञ्चारमाध्यममा धरपकड गर्ने तथा पत्रकारहरूलाई गिरफ्तार गर्ने कार्य तत्काल बन्द गर्न माग गरे। त्यसैगरी, सञ्चारमाध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने र श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने गतिविधिप्रति पनि महासंघले आपत्ति जनाएको छ।
महासंघले सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी अन्त्य गर्न, पत्रकारलाई निर्बाध रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न र सञ्चार क्षेत्रमाथिको हस्तक्षेप रोक्न सम्बन्धित निकायसँग माग गरेको छ।
यसैबीच, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहले पत्रकार तथा सञ्चारमाध्यमको अधिकार रक्षाका लागि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।
महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको माग गर्दै विरोधका कार्यक्रम अघि बढाउने जनाएको छ।


























