
कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ बजेट माग गरिएको छ। गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा पिल्लर भत्काएपछि आवागमन पूर्ण रूपमा बन्द छ।

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने ऐतिहासिक पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग बजेट माग गरिएको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिए।
उनका अनुसार भत्किएको पिल्लर आसपास अझै पानी बगिरहेकाले माटो परीक्षण तथा विस्तृत लागत अनुमान तयार गर्न समस्या भएको छ। नदीको सतह घटेपछि प्राविधिक अध्ययन पूरा गरी ठेक्का प्रक्रियामा जाने तयारी छ।
पुलको क्षति अध्ययन गर्न पुगेको प्राविधिक टोलीले करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको र पूर्ण पुनर्निर्माणका लागि झन्डै २० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको थियो।
टोलीले भत्किएको पिल्लरसँगै दायाँ–बायाँका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको औँल्याएको छ। यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले पुल पुनर्निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित यो पुल बन्द हुँदा स्थानीयको आवागमन र पर्यटन गतिविधि प्रभावित भएका छन्।




























