
बर्दिया: बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको ज्यान गएको छ। राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार आइतबार बेलुकी घरको आँगनमा खेलिरहेका बेला चितुवाले बालिकामाथि आक्रमण गरी लगेको थियो।
बालिका बेपत्ता भएपछि अभिभावकले खोजी गर्ने क्रममा घरदेखि करिब ३०० मिटर पश्चिम–दक्षिणतर्फ रहेको सिमलको झ्याङमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ज्यान गएको यो दोस्रो घटना हो। यसअघि गत असोज २२ गते राजापुर नगरपालिका–३ तिघ्राका ४२ वर्षीय मङ्गल थारुको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।
लगातारका घटनाले स्थानीय बासिन्दामा त्रास बढेको छ। बालबालिकाको सुरक्षालाई लिएर स्थानीय चिन्तित बनेका छन्।



























