
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ। महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा बिहान हुस्सु तथा तुवाँलो लागेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका अन्य भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यका तथा पहाडी खोँचका साथै तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।


























