
धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले डडेल्धुराका बायाँहाते तीव्र गतिका बलर टेकराज थलाललाई तेस्रो सिजनका लागि आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ।

यसअघि एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा रहेका थलाल यसपटक आइकोनिक खेलाडीका रूपमा छनोट भएका हुन्। प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिएको ट्यालेन्ट हन्टमार्फत स्थानीय क्रिकेट प्रतिभाको खोजी गर्ने क्रममा थलाल छनोटमा परेका हुन्।
सुदूरपश्चिम रोयल्सले दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरमा ट्यालेन्ट हन्ट सञ्चालन गरेको थियो। असोज १४ गते बैतडीको डिलासैनीबाट सुरु भएको छनोट प्रक्रिया असोज २१ गते धनगढी ओभलमा अन्तिम चरणको कार्यक्रमसँगै सम्पन्न भएको थियो।

ट्यालेन्ट हन्टबाट कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बम ‘हिरोज’का रूपमा छनोट भएका छन्। उनीहरू सबै सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनेछन्।
स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको ट्यालेन्ट हन्टले सुदूरपश्चिमका खेलाडीलाई व्यावसायिक क्रिकेटमा अघि बढ्ने अवसर प्रदान गरेको छ। थलालको आइकोनिक खेलाडीका रूपमा छनोटले प्रदेशकै प्रतिभालाई एनपीएलमा स्थापित हुने थप अवसर मिलेको छ।






























