
धनगढीः कैलालीको धनगढीबाट भन्सार छली गरी ल्याइएका २६ लाख ८८ हजार रुपैयाँ बराबरका सामानसहित भारतीय मिनी ट्रक बरामद गरिएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीसहितबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चौराहामा शंकास्पद अवस्थामा रहेको भारतीय मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छलीका सामान फेला पारेको हो।
प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका मोबाइल डिस्प्ले तथा विभिन्न किसिमका तरकारी ट्रकमा राखिएको अवस्थामा बरामद गरिएको हो। जाँचका क्रममा यूपी २३ टी ८६७५ नम्बरको भारतीय मिनी ट्रकबाट ती सामान फेला परेका थिए।

प्रहरीले मिनी ट्रकका चालक भारतको लखिमपुर खिरी निवासी २५ वर्षीय आकिब खाँनलाई सामान र ट्रकसहित नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएका सामान तथा भारतीय मिनी ट्रकको कुल अनुमानित मूल्य २६ लाख ८८ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले बरामद सामान, ट्रक र पक्राउ परेका चालकबारे थप आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।































