
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृङ्खलाअन्तर्गत नेपालले आज आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुने खेल नेपालका लागि अङ्कतालिकामा सुधार गर्दै शीर्ष छभित्र पर्ने सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो।

लिग–२ मा ३२ खेलबाट ११ जित, १९ हार र दुई खेलमा नतिजाविहीन हुँदै २४ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ। क्यानडा ३३ खेलबाट २५ अङ्कसहित छैटौँ स्थानमा रहँदा ओमान २९ खेलबाट ३३ अङ्क जोड्दै पाँचौँ स्थानमा छ।
शुक्रबार ओमानले क्यानडालाई ४१ रनले पराजित गरेपछि नेपाललाई केही राहत मिलेको छ। उक्त खेलमा ओमानले ४९.१ ओभरमा सबै विकेट गुमाएर २६३ रन बनाएको थियो। ओपनर हसनैन उल वहाबले ७७ बलमा ९३ रन बनाए। जवाफमा क्यानडा ४८ ओभरमा २२२ रनमै समेटिएको थियो। क्यानडाका आदित्य वराधराजनले ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

नेपालले अन्तिम शृङ्खलामा क्यानडासँग दुई र आयोजक ओमानसँग दुई खेल खेल्न बाँकी छ। क्यानडासँगको अङ्क अन्तर एक मात्र रहेकाले आजको खेल जिते नेपालले तालिकामा सुधार गर्ने अवसर पाउनेछ। नेपालले क्यानडासँग असोज ३१ गते पुनः खेल्नेछ भने ओमानसँग असोज २७ गते र कात्तिक २ गते प्रतिस्पर्धा गर्नेछ।
लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। शीर्ष चारमा पुग्न नसक्ने टोलीले छनोट प्लेअफको बाटो अपनाउनुपर्नेछ। त्यसैले नेपालका लागि बाँकी चारै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सकेसम्म धेरै अङ्क जोड्नु आवश्यक छ।
सन्दीप लामिछानेको कप्तानीमा नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा ललित राजवंशी, शाहब आलम र शेर मल्ल स्पिन बलिङका विकल्प छन्। तीव्र गतितर्फ करण केसी र नन्दन यादव मुख्य विकल्पका रूपमा रहेका छन्। दीपेन्द्रसिंह ऐरी, गुलशन झा र बशिर अहमदले पनि बलिङमा योगदान दिन सक्छन्।
ब्याटिङतर्फ आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल र सन्दीप जोरालगायतका खेलाडी छन्। अनुभवी ओपनर कुशल भुर्तेल र तीव्र गतिका बलर सोमपाल कामी यसपटक टोलीमा छैनन्। उनीहरूको अनुपस्थितिमा नयाँ संयोजनका साथ मैदानमा उत्रने नेपालका लागि ब्याटिङमा स्थिरता र बलिङमा सन्तुलन कायम गर्नु चुनौती हुनेछ।
मुख्य प्रशिक्षक स्टुअर्ट लका लागि पनि अन्तिम शृङ्खला महत्त्वपूर्ण छ। पछिल्ला खेलमा देखिएको ब्याटिङको अस्थिरता सुधार्दै दबाबपूर्ण अवस्थामा जिम्मेवार प्रदर्शन गर्नु नेपाली टोलीको प्राथमिकता हुनेछ। क्यानडाविरुद्धको आजको नतिजाले नेपालको लिग–२ यात्रामा महत्त्वपूर्ण प्रभाव पार्नेछ।































