
गोरखाः गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि बुढीगण्डकी नदीमा भीषण बाढी आएको छ। थुनिएको खोला फुटेर आएको बाढीले नदी किनारका बस्ती, विद्यालय, पुल तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।

चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बाढीले वडा नम्बर ३ का घट्टेखोला, पयुँ, सल्लेरी तथा जगत बगर क्षेत्रमा व्यापक क्षति गरेको छ। बाढीले जगत बगरको स्वरूप नै परिवर्तन गरेको छ भने घट्टेखोलामा रहेको विकास प्राथमिक विद्यालयको भवनसमेत बगाएको छ।
‘भोटेकोशीकै पारामा बुढीगण्डकी उर्लेर आयो। जगत बगरको त नामनिसानै छैन। सल्लेरी, पयुँ र घट्टेखोला क्षेत्रमा ठूलो क्षति पुगेको छ,’ उपाध्यक्ष गुरुङले भनेकी छन्।

बाढी बिहान ७ः३० बजे चुमनुब्री गाउँपालिका भएर बग्ने नदीको तल्लो क्षेत्रस्थित सोती बजारसम्म पुगेको थियो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बाढीले सोती बजारमा रहेको पुल तथा केही टहरा बगाएको छ।
त्यस्तै, धार्चे गाउँपालिका क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ। गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङका अनुसार बाढीले दोभानको बेलिब्रिज, केरौंजा जाने पुल तथा केही घर बगाएको छ। बाढीका कारण नदी आसपासका बस्तीमा त्रास फैलिएको छ भने स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन्।
बुढीगण्डकीको बहाव निरन्तर बढिरहेको र घट्टेखोला क्षेत्रमा केही घरभित्र लेदोसहितको पानी पसेको विवरण सार्वजनिक भएपछि उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन गरिएको छ।
गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार, राहत तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न परिचालन गरिएको जानकारी दिएका छन्। उनले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। नदीको बहाव बढिरहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र प्रशासनको सूचनाको पालना गर्न आग्रह गरिएको छ।































