
कैलालीको अत्तरिया बसपार्कमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको छ।

नगरस्तरीय अपाङ्ग कार्य सञ्जालले दसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याएको हो। प्रहरी, ज्येष्ठ नागरिक समाज, सुप समावेशी आधारभूत विद्यालयलगायत सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा सहायता कक्ष स्थापना गरिएको जनाइएको छ।

अत्तरिया बसपार्कबाट विभिन्न जिल्लामा आवतजावत गर्ने सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले पाउनुपर्ने सेवा, सुविधा र सहुलियत सुनिश्चित गर्न सहायता कक्ष सञ्चालन गरिएको हो। यातायात व्यवस्था ऐन, २०४९ तथा अपाङ्गता अधिकारसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यसमेत रहेको बताइएको छ।
सहायता कक्षको औपचारिक उद्घाटन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक नवराज कार्कीले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै कार्कीले यातायात तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसँग सम्बन्धित ऐन–कानुनको कार्यान्वयनमा ट्राफिक प्रहरी प्रतिबद्ध रहेको बताए।
नगरस्तरीय अपाङ्ग कार्य सञ्जालका अध्यक्ष लक्ष्मण विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको हकहित तथा अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
पर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले सहायता कक्षले अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ।































