
अत्तरिया : अपाङ्गता भएका व्यक्तिले परिचयपत्र देखाउँदा पनि कानुनअनुसार पाउनुपर्ने ५० प्रतिशत भाडा छुट नदिएको भन्दै कैलालीको अत्तरियामा एक हाइसलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ।

कञ्चनपुरबाट डोटी जाँदै गरेका अपाङ्गता भएका व्यक्ति कर्णबहादुर बोगटीलाई भाडामा छुट नदिएको पाइएपछि बागमती प्रदेश ०१–००६ ख ८९१९ नम्बरको हाइसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाएको हो।
आइतबार अत्तरिया बसपार्कमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि सहायता कक्ष स्थापना गर्ने क्रममा उक्त घटना बाहिर आएको हो। गोदावरी नगरस्तरीय अपाङ्ग कार्य सञ्जालका अध्यक्ष लक्ष्मण विकले हाइसमा यात्रा गरिरहेका बोगटीलाई भाडामा छुट पाए–नपाएको विषयमा सोधपुछ गर्दा उनले पूरा भाडा तिरेर आएको बताएपछि घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

बोगटीले अपाङ्गता परिचयपत्र देखाएर आधा भाडा छुट माग्दासमेत नपाएको बताएपछि कारबाहीका लागि प्रहरीलाई अनुरोध गरिएको अध्यक्ष विकले जानकारी दिए।
घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक नवराज कार्कीले हाइसलाई रोकेर कारबाहीको प्रक्रिया अघि बढाएका थिए। उनले तीन दशकभन्दा अघि बनेको कानुनी व्यवस्था अहिलेसम्म थाहा नभएको बहानामा उम्कन नमिल्ने बताए। अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले कानुनअनुसार पाउनुपर्ने छुट अनिवार्य रूपमा कार्यान्वयन हुनुपर्ने उनको भनाइ थियो।
“यो धर्म गरेको होइन, सेवा गरेको पनि होइन, माया गरेर मात्रै पनि होइन। यो कानुनले दिएको अधिकारको कुरा हो,” प्रहरी उपरीक्षक कार्कीले भने, “कानुनमा भएको व्यवस्था सम्बन्धित व्यक्तिको अधिकार हो। कानुन कार्यान्वयनका लागि नै हामी खटिएका छौँ।”
उनले सार्वजनिक यातायातमा यात्रा गर्दा अपाङ्गता भएका व्यक्तिले पाउनुपर्ने भाडा छुट नपाएमा प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर जानकारी गराउन आग्रह गरे।
आफूले यात्रा गरेको हाइसलाई कारबाहीको दायरामा ल्याइएको भन्दै बोगटीले खुसी व्यक्त गरे। यद्यपि, भाडा छुट मागेकै कारण आगामी दिनमा सार्वजनिक यातायातमा यात्रा गर्न समस्या हुने हो कि भन्ने चिन्ता पनि उनले व्यक्त गरे।
“आधा भाडा दिएर गाडीमा चढ्न पाउँछौँ कि पाउँदैनौँ भन्ने चिन्ता छ। पूरा भाडा दिएर गाडीमा चढ्न पाएका छौँ,” उनले भने, “भाडा छुट माग्दा बीच बाटोमा गाडीमा चढ्न पाउने हो कि होइन भन्ने चिन्ता लाग्छ।”
बोगटीका अनुसार कञ्चनपुरबाट डोटी जान उनले उक्त हाइसमा ७५० रुपैयाँ भाडा तिरेका थिए। अपाङ्गता परिचयपत्र देखाएर ५० प्रतिशत छुट माग्दा भने ५० रुपैयाँ मात्र घटाएर ७०० रुपैयाँ तिर्न लगाइएको उनले बताए।
यस घटनाले सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिका लागि कानुनले व्यवस्था गरेको सहुलियत प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ। अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायले नियमित अनुगमन र कानुनविपरीत कार्य गर्नेमाथि कारबाही गर्नुपर्ने देखिन्छ।































