अत्तरियामा लियोन स्पोर्ट्स हाउस सञ्चालनमा, ६० भन्दा बढी खेलाडीलाई निःशुल्क प्रशिक्षण दिँदै विनोद

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा खेलाडी तथा खेलप्रेमीलाई लक्षित गर्दै ‘लियोन स्पोर्ट्स हाउस’ सञ्चालनमा आएको छ। खेलाडीलाई गुणस्तरीय खेल सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले आइतबार घटस्थापनाको शुभ अवसर पारेर सञ्चालनमा ल्याइएको स्पोर्ट्स हाउसको उद्घाटन इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले गरेका हुन्।

CP Hospital Dhangadhi

स्पोर्ट्स हाउसमा फुटबल, भलिबल, क्रिकेटलगायत विभिन्न खेलका सामग्री, जर्सी, फुटबलका जुत्ता तथा ग्लोभ्स उपलब्ध छन्। खेलाडीको आवश्यकता र मागअनुसार अन्य खेल सामग्रीसमेत उपलब्ध गराइने सञ्चालक विनोद दर्लामी मगरले जानकारी दिए।

nawajiwan

खेलकुद क्षेत्रमा सक्रिय रहँदा खेलाडी तथा विद्यार्थीले आवश्यक सामग्री खरिद गर्न भोग्नुपरेका समस्या देखेपछि व्यवसाय सुरु गरेको दर्लामीले बताए। बजारमा मूल्यअनुसार गुणस्तरीय सामग्री पाउन कठिन हुने तथा कतिपय सामग्री छोटो समयमै बिग्रिने समस्या रहेकाले खेलाडीलाई सहज रूपमा भरपर्दो सामग्री उपलब्ध गराउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।

१५ वर्षदेखि खेलकुद क्षेत्रमा सक्रिय, ६० भन्दा बढी खेलाडीलाई निःशुल्क प्रशिक्षण

दर्लामी मगर विगत १५ वर्षदेखि फुटबल तथा खेलकुद क्षेत्रमा सक्रिय छन्। उनी खेलाडी उत्पादन र प्रशिक्षणमा समेत संलग्न रहँदै आएका छन्। हाल उनले ६० भन्दा बढी खेलाडीलाई निःशुल्क फुटबल प्रशिक्षण दिँदै आएका छन्।

आर्थिक अभावका कारण आवश्यक खेल सामग्री खरिद गर्न नसक्ने प्रतिभाशाली खेलाडीलाई उनले निःशुल्क सामग्रीसमेत उपलब्ध गराउँदै आएका छन्। आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई खेल क्षेत्रमा अघि बढ्न सहयोग पुर्‍याउनु आफ्नो उद्देश्य रहेको उनले बताए।

‘सी’ ग्रेडका फुटबल प्रशिक्षकसमेत रहेका दर्लामीले स्पोर्ट्स हाउस सञ्चालनसँगै स्थानीय खेलाडीलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने र प्रशिक्षणमार्फत सुदूरपश्चिममा फुटबलको विकास तथा प्रतिभावान् खेलाडी उत्पादनमा योगदान पुर्‍याउने लक्ष्य राखेका छन्।