रोहित पौडेलको शतकमा क्यानडामाथि नेपालको शानदार जित, लिग–२ को अंक तालिकामा छैटौँ स्थानमा उक्लियो

Image
Nisarga Hospital

अत्तरिया : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले क्यानडामाथि शानदार जित निकालेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। पूर्वकप्तान रोहित पौडेलको शतक र नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले महत्त्वपूर्ण दुई अंक जोडेको छ।
नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमै अलआउट भयो। क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। उनले ४९ बलमा ६ चौका प्रहार गरे। अमित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभ्भा र कप्तान हम्जा तारिकले समान २६ रन बनाए।
नेपालका लागि सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान दुई–दुई विकेट लिए। उनीहरूको कसिलो बलिङले क्यानडालाई लक्ष्यसम्म पुग्न दिएन।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालको इनिङ्स सम्हाल्ने क्रममा पूर्वकप्तान रोहित पौडेलले उत्कृष्ट शतकीय पारी खेले। चौथो क्रममा ब्याटिङ गर्न आएका रोहितले १२६ बलमा आठ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए। उनी ४८ ओभर ३ बलमा आउट भएका थिए। यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक हो।
त्यस्तै, अन्तिमतिर आक्रामक ब्याटिङ गरेका गुल्सन झाले अर्धशतक बनाउन दुई रनले चुके। उनले ३४ बलमा चार चौका र तीन छक्कासहित ४८ रन बनाए। अर्जुन कुमालले २३ र बसिर अहमदले ३० रनको योगदान दिए।
नेपालका अन्य ब्याटरमध्ये आसिफ शेखले चार तथा इशान पाण्डेले शून्य रन बनाए। करण केसीले चार तथा नन्दन यादव र ललित राजवंशीले समान दुई रन बनाए। क्यानडाका अखिल कुमारले चार विकेट लिँदा सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट हात पारे।
अंक तालिकामा नेपाललाई फाइदा
क्यानडामाथिको जितसँगै नेपाल लिग–२ को अंक तालिकामा छैटौँ स्थानमा उक्लिएको छ। नेपालले ३३ खेलबाट २६ अंक जोडेको छ। ३४ खेलबाट २५ अंक रहेको क्यानडा सातौँ स्थानमा झरेको छ।
अंक तालिकामा अमेरिका ३४ खेलबाट ४७ अंकसहित शीर्ष स्थानमा रहँदै च्याम्पियन बनिसकेको छ। स्कटल्यान्डले ३६ खेलबाट ४५ र नेदरल्यान्ड्सले ३२ खेलबाट ३८ अंक जोडेका छन्। ओमानले २९ खेलबाट ३३, नामिबियाले ३५ खेलबाट ३१ र यूएईले ३१ खेलबाट १९ अंक बनाएका छन्।
नेपालले जारी शृंखलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ। लिग–२ को अंक तालिकामा शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। त्यसैले नेपालका लागि बाँकी खेलहरू विश्वकप छनोटको सम्भावना बलियो बनाउन महत्त्वपूर्ण हुनेछन्।

CP Hospital Dhangadhi