आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा–आराधना गरिँदै

Image
Nisarga Hospital

काठमाडौं : बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज देशभर नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। दसैँ घर तथा पूजा कोठामा देवीको आह्वान गरी श्रद्धा र भक्तिपूर्वक पूजा गर्ने परम्परा छ।

CP Hospital Dhangadhi

नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौँको जमरा राखिएको थियो। सोही दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा–आराधना गरिएको थियो। आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ।

धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवी तपस्या, त्याग, साधना र संयमकी प्रतीक हुन्। संसारका प्राणीलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनामा लागिरहने मान्यताका आधारमा उनलाई ब्रह्मचारिणी भनिएको हो। देवीको स्वरूपमा कमल, अक्षमाला र कमण्डलु रहने धार्मिक ग्रन्थमा उल्लेख छ।

nawajiwan

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीको विशेष पूजा–आराधना गर्छन्।

धार्मिक विश्वासअनुसार नवरात्रमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य, विद्या र सुख–शान्ति प्राप्त हुनुका साथै मनोकामना पूरा हुन्छ। यही विश्वासका साथ देशभरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। भक्तजनले शक्तिपीठमा पुगेर पूजा, दर्शन तथा आराधना गरिरहेका छन्।

यसैगरी, काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँ घरमा पनि राज्यका तर्फबाट विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा–आराधना गरिँदैछ। नवरात्रका नौ दिन पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा रहेको छ।