
आज २०८३ साल असोज २६ गते सोमबार, सन् २०२६ अक्टोबर १२ तारिख। हिन्दू पात्रोअनुसार आज असोज शुक्ल पक्षको द्वितीया तिथि परेको छ।

हिन्दू धर्मशास्त्रअनुसार सोमबार भगवान् शिवको विशेष दिन मानिन्छ। यस दिन भक्तजनले महादेवको पूजा–आराधना गर्नुका साथै व्रत बस्ने परम्परा छ। धार्मिक विश्वासअनुसार सोमबारको व्रतले मनोकामना पूरा हुने, ज्ञान प्राप्त हुने र जीवनमा सुख–शान्ति मिल्ने विश्वास गरिन्छ।
सोमबारको व्रत सूर्योदयसँगै सुरु हुने र सूर्यास्तपछि पूजा–आराधना गरी समापन गर्ने चलन छ। यस दिन भगवान् शिव र माता पार्वतीको पूजा गरिन्छ। कुनै पनि धार्मिक पूजा सुरु गर्नुअघि भगवान् गणेशको आराधना गर्ने परम्परा पनि रहेको छ।

विशेषगरी अविवाहित महिलाले असल जीवनसाथी प्राप्तिको कामना गर्दै सोमबार व्रत बस्ने धार्मिक चलन छ। भक्तजनले श्रद्धा र भक्तिपूर्वक शिवको पूजा गरी आफ्नो मनोकामना पूरा होस् भन्ने कामना गर्ने गर्छन्।



































