
नेपाली बजारमा सुनको मूल्य लगातार घट्ने क्रममा चार दिनमै प्रतितोला ८ हजार १०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार घटेर २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको हो।

बिहीबार मात्रै सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ। बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। बिहीबार चाँदी प्रतितोला २२० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।


आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको थियो। यसअनुसार चार दिनको अवधिमा चाँदी प्रतितोला ४०५ रुपैयाँले सस्तिएको छ। सुनचाँदीको मूल्यमा आएको गिरावटले बजारमा खरिदबिक्री गर्ने उपभोक्ता तथा व्यवसायीको चासो बढाएको छ।

































