
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया कन्फ्रेन्स आयोजना गर्ने भएको छ।

क्यानले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै क्रिकेट विकास र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ।
सम्मेलनमा एसियाका टेस्ट मान्यता प्राप्त राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिहरूका साथै अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरूको सहभागिता रहनेछ। सम्मेलनले एसियाली राष्ट्रहरूबीच क्रिकेट विकास, आपसी सहकार्य र अनुभव आदानप्रदानका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।



नेपालमा यस्तो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुनुलाई नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसबाट अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा नेपालको उपस्थिति थप बलियो हुनुका साथै नेपालको खेलकुद पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने क्यानको अपेक्षा छ।
सम्मेलनमा सहभागी हुन नेपाल आउने प्रतिनिधिहरूले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत हुने इलिमिनेटर र फाइनल खेलसमेत अवलोकन गर्नेछन्। यसले नेपालमा सञ्चालन भइरहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट समुदायमाझ चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
क्रिकेटसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताको आयोजनाले नेपाललाई क्षेत्रीय क्रिकेट गतिविधिको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्नसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।

































