
अत्तरिया । बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गरेको छ। सोमबार अल अमेरत ग्राउन्ड टर्फ–१ मा भएको रोमाञ्चक खेलमा जित निकाल्दै नेपालले लिग–२ को अंकतालिकामा छैटौँ स्थान पक्का गरेको हो।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो। ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। पहिलो विकेट ३२ रनमै गुमाएको ओमानका लागि यी दुई ब्याटरले दोस्रो विकेटका लागि १५८ रनको उत्कृष्ट साझेदारी गरेका थिए।
ओमान १९० रनमा दोस्रो विकेट गुमाएपछि नेपाल खेलमा फर्किएको थियो। त्यसपछि नियमित अन्तरालमा विकेट लिँदै नेपालले ओमानलाई दबाबमा राख्यो। २२४ रनमा पाँचौँ र २३२ रनमा छैटौँ विकेट गुमाएको ओमान अन्ततः लक्ष्यभन्दा १० रनले पछि रह्यो।




त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। ओपनर देवले ६५ बलमा ५७ रन बनाए भने कप्तान रोहितले ८१ बलमा ८० रन जोडे। दीपेन्द्रले ६२ बलमा ६९ रन बनाए।
९९ रनमा तीन विकेट गुमाएको अवस्थामा रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। यद्यपि, त्यसपछि नेपालको ब्याटिङ धरमराउँदा टोली २८० रनमै समेटियो। अन्तिमतिर बसिर अहमदले सात बलमा १७ रन जोड्दै टोलीको स्कोर बढाएका थिए। ओमानका शाह फैसलले पाँच विकेट लिए।
लिग–२ को शीर्ष ६ मा रहन नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो। सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई हराएको नेपाल शनिबार क्यानडासँग पराजित भएपछि सातौँ स्थानमा झरेको थियो। ओमानविरुद्धको जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्दै छैटौँ स्थान सुरक्षित गरेको छ।
लिग–२ को शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने विषय महत्त्वपूर्ण रहे पनि यसबारे आईसीसीको आधिकारिक घोषणा भने आउन बाँकी छ।



































