
देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा केही प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली देखिएको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली रहनेछ। तर, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा देशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।




महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
मौसममा आंशिक परिवर्तनसँगै वर्षा र हिमपात हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



































