
अत्तरिया: बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लास, श्रद्धा र उल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, जमरा तथा प्रसाद ग्रहण गरी सुख, शान्ति, समृद्धि र दीर्घायुको आशीर्वाद लिने धार्मिक परम्परा छ।
दसैँघर वा पूजा कोठामा नौ दिनसम्म विधिपूर्वक दुर्गा भवानीको पूजा–आराधना गरी राखिएको जमरा र प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका ग्रहण गर्न शुभसाइत खोज्नेहरूका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १० बजेर २६ मिनेटको समय उत्तम रहेको जनाएको छ।
समितिका अनुसार विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत खोजिरहनु पर्दैन। यद्यपि राज्य सञ्चालकहरूले भने शास्त्रीय मान्यताअनुसार शुभसाइतमै टीका लगाउनुपर्ने परम्परा छ। शुभसाइतमा टीका ग्रहण गर्दा देवीको शक्ति, उत्साह र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिअनुसार अभिषेक गरी टीका लगाउने चलन छ। रातो टीकालाई विजय र शुभताको प्रतीक तथा पहेँलो जमरालाई समृद्धि र उन्नतिको प्रतीकका रूपमा लिइन्छ। यस दिन गुरु, पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा तथा अन्य मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै सुख, शान्ति, ऐश्वर्य, सफलता र दीर्घायुको आशीर्वाद लिने गरिन्छ।
विजयादशमी असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक हो। धार्मिक मान्यताअनुसार त्रेतायुगमा भगवान् रामले असत्यका प्रतीक रावणमाथि विजय प्राप्त गरेको स्मरणमा यो पर्व मनाउन थालिएको विश्वास छ। त्यसैले यस दिनलाई विजय, सद्भाव र सकारात्मक परिवर्तनको प्रतीकका रूपमा पनि लिइन्छ।
दसैँमा टीका लगाउँदा पुरुषलाई दीर्घायु, यश, ऐश्वर्य, वीरता, बल, ज्ञान र कीर्ति प्राप्त होस् भन्ने कामनासहित परम्परागत मन्त्रबाट आशीर्वाद दिने चलन छ। महिलालाई दुर्गा भवानीका विभिन्न स्वरूपको स्मरण गर्दै देवीको कृपा, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।
आजदेखि कोजाग्रत पूर्णिमासम्म अधिकांश नेपाली परिवारमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहन्छ। विभिन्न स्थानमा पारिवारिक तथा कुलपरम्पराअनुसार टीका लगाउने चलनमा केही भिन्नता पनि पाइन्छ। कतिपय समुदायमा विजयादशमीका दिन मात्रै टीका लगाउने प्रचलन छ भने अधिकांश स्थानमा पूर्णिमासम्म टीका लगाउने गरिन्छ।

दसैँ केवल धार्मिक पर्व मात्र नभई परिवारका सदस्य, आफन्त र टाढा रहेका प्रियजनलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण अवसर पनि हो। रोजगारी, अध्ययन तथा विभिन्न कारणले घरबाट टाढा रहेका मानिसहरू गाउँघर फर्किने र परिवारसँग खुसी साटासाट गर्ने भएकाले विजयादशमीले पारिवारिक एकता, आपसी सद्भाव र आत्मीयताको सन्देशसमेत दिने गरेको छ।
आजको दिन टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै नेपालीहरूले आफ्नो जीवनमा सुख, शान्ति, प्रगति र सफलताको कामना गर्नेछन्। यसरी धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक आत्मीयतासँग जोडिएको विजयादशमी नेपालीहरूको सबैभन्दा महत्वपूर्ण चाडमध्ये एकका रूपमा मनाइँदैछ।


































