
अत्तरिया: नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लास, उमङ्ग र पारिवारिक जमघटका साथ मनाइँदै छ। आज मान्यजन तथा ज्येष्ठ सदस्यको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा विधिपूर्वक देवी विसर्जन गर्ने शुभ साइत रहेको छ। त्यसैगरी, विजयादशमीको टीका लगाउन बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा निर्धारण गरिएको छ। समितिका अनुसार टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्छ।
घटस्थापनाका दिनदेखि घरघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म पूजा–आराधना गरिएको जमरा र देवीको प्रसाद आज घरका ज्येष्ठ सदस्यबाट ग्रहण गरिन्छ। यस दिन परिवारका सदस्य, आफन्त तथा बन्धु–बान्धव एकै ठाउँमा भेला भएर टीका र जमरा लगाउँदै सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने गर्छन्।




दसैँको टीकाले टाढा–टाढा रहेका परिवारका सदस्यलाई एकै ठाउँमा जोड्ने महत्त्वपूर्ण भूमिका खेल्छ। व्यस्त जीवनशैलीका कारण वर्षभरि भेटघाट गर्न नपाएका आफन्तसमेत दसैँमा भेटघाट गरी आपसी माया, सम्मान र सद्भाव साटासाट गर्छन्। यस पर्वले परिवारभित्र मात्र नभई छिमेकी र समुदायबीच समेत मेलमिलाप, भाइचारा तथा सामाजिक एकता बलियो बनाउन सहयोग पुर्याउँछ।
धार्मिक तथा पौराणिक मान्यताअनुसार विजयादशमीलाई देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा मनाइन्छ। मार्कण्डेय पुराणअन्तर्गतको ‘देवीमाहात्म्य’ मा देवी दुर्गाको महिमा, दानवी शक्तिविरुद्धको सङ्घर्ष र धर्मको रक्षासम्बन्धी प्रसङ्ग उल्लेख गरिएको छ। त्यसैले विजयादशमीलाई असत्यमाथि सत्य, अधर्ममाथि धर्म र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा लिने गरिन्छ।
दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने पहेँलो जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्छ। यस दिन भगवतीलाई अर्पण गरिएको रातो तथा सेतो वस्त्रलाई प्रसादका रूपमा घाँटीमा लगाउने परम्परा पनि रहेको छ।


































