
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफेन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित भएका छन्। २८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपको क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित छन्। विशेषगरी मध्यक्रममा तीव्र गतिमा रन बनाउने र छक्का प्रहार गर्ने क्षमताका कारण उनी चर्चित छन्।

रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीय क्रिकेटमा उनले ८७३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च व्यक्तिगत स्कोर ८४ रन हो।
सबैखाले टी–२० क्रिकेटमा रदरफोर्डले २८३ खेल खेल्दै ५ हजार ९० रन बनाएका छन्। यस क्रममा उनले ३२४ छक्का प्रहार गरेका छन्। उनको टी–२० ब्याटिङ स्ट्राइक रेट १४२.०५ रहेको छ। उनी नियमित बलर नभए पनि टी–२० का ३३ इनिङ्समा बलिङ गर्दै १८ विकेट लिन सफल भएका छन्।




रदरफोर्डले सन् २०१८ मा क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट टी–२० क्रिकेटमा पदार्पण गरेका थिए। सोही वर्ष उनले वेस्ट इन्डिजका लागि टी–२० अन्तर्राष्ट्रिय खेल्न थालेका थिए। सन् २०२३ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा पदार्पण गरेका उनले दोस्रो खेलमै ६३ रन बनाएका थिए।
फ्रेन्चाइज क्रिकेटमा रदरफोर्डले इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी–२०, मेजर लिग क्रिकेट र सीपीएलमा अनुभव बटुलेका छन्। उनी सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएल उपाधि जित्दा टोलीमा थिए भने कराँची किङ्सबाट पीएसएल उपाधिसमेत जितेका थिए।
आईपीएलमा सन् २०२५ मा गुजरात टाइटन्सबाट १३ खेल खेल्दै २९१ रन बनाएका रदरफोर्डले यसअघि दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुको प्रतिनिधित्व पनि गरेका थिए। उनको अनुबन्धसँगै सुदूरपश्चिम रोयल्सले एनपीएलमा आफ्नो ब्याटिङ थप आक्रामक बनाउने अपेक्षा गरेको छ।


































