तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता कञ्चनपुरमा हुने

Image
Nisarga Hospital

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरको खुला मञ्चमा माघ दोस्रो सातादेखि तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा हुने भएको जनाइएको छ। सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले यसअघि दुईपटक सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रोपटक कञ्चनपुरमा गर्न लागेको बताए।

भलिबलका खेलाडी र खेलकुद क्षेत्रको वृद्धि विकासका लागि तेस्रोपटक राष्ट्रिय मुख्यमन्त्री भलिबल प्रतियोगिता आयोजना गर्न लगेको उनले बताए। सदस्यसचिव सिंहले प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढाएको बताए। उनका अनुसार प्रतियोगितामा सातै प्रदेशसहित तीन विभागीय गरेर १० टिमको सहभागिता हुनेछ।

nawajiwan

सातै प्रदेशका सात र सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका टिमबीच प्रतियोगिता हुनेछ। प्रतियोगिता विजेता टिमलाई नगद चार लाख, उपविजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगदसहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिनेछ। चौथो हुने टिमलाई सान्त्वनास्वरूप ५० हजार नगद पुरस्कारसमेत प्रदान गरिनेछ।

Attariya Hospital

सेमिफाइनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०–१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ। सदस्यसचिव सिंहले प्रतियोगितामा झन्डै ८० लाख रुपैयाँ विनियोजन गरेको बताए। उनले खेलाडी, प्रशिक्षक एवं स्वयंसेवकका लागि आयोजकले बस्ने–खाने प्रबन्ध मिलाएको बताए।

भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले राष्ट्रिय स्तरमै भलिबलका खेलाडी कञ्चनपुर, कैलालीसहित सुदूरपश्चिममा उर्वरा भएकाले प्रतियोगिताले थप उत्साह उत्पन्न गराउने बताए। नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताले क्षेत्रका रहेका भलिबलका थप खेलाडीलाई खेलप्रति उत्साहित गर्ने बताए। सातै प्रदेशबाट उत्कृष्ट खेलाडी छनोट गरेर राष्ट्रिय टिममा समेत सहभागिता गराउने अध्यक्ष चन्दले बताए।

सरकारले भलिबललाई राष्ट्रिय खेलको घोषित गरेसँगै संघले समेत प्रतियोगिता त्यहीअनुरूप अघि बढाइरहेको बताए। केन्द्रीय अध्यक्ष चन्दले प्रतियोगिताबाट प्रदेश, राष्ट्र मात्रै नभई अन्तर्राष्ट्रिय स्तरसम्मै नेपालकै पहिचान गर्ने वातावरण बनाइने बताए। कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्यामसिंह मौनीले जिल्लामा हुने ऐतिहासिक प्रतियोगिता सफल पार्न संघले खेल्नुपर्ने सबै भूमिका निर्वाह गर्ने बताए । उनले तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबलको प्रतियोगिता सम्पन्न गरेर जिल्लाका खेलकुद पर्यटनको समेत प्रवर्द्धन गर्ने बताए।