
बझाङ: लगातारको खडेरीले बझाङ जिल्लामा गहुँबाली सुकेको छ । यो बर्ष हिउँदे बर्षा नहुँदा गहुँबाली सुकेको किसानहरुले बताएका छन् । पौष दोश्रो साता लागि सक्दा समेत यो बर्ष हिउँदे बर्षा भएको छैन् ।

सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको तल्कोट गाउपालिकाका कृषकहरुले बताएका छन् । ‘खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । अझै पानी पर्ने छाँटकाँट देखिएको छैन् । यो बर्ष भोकमरी हुने सम्भावना देखिएको छ स्थानीय कृषकहरुले बताएका छन् । हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाएको किसानहरुको भनाइ रहेको छ ।

हिउँदमा खडेरीका कारण गहुँ उत्पादनमा कमी आउने गरेको किसानहरुले बताएका छन् । बझाङमा ११ हजार ४ सय हेक्टर जमीनमा गहुँखेती हुँदै आएको छ । यो मध्ये ७ हजार ६ सय हेक्टरमा सिचाइ सुबिधा रहेको कृषि ज्ञानकेन्द्रका प्रमुख टेक बहादुर बिष्टले बताउनुभयो ।

सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेकाले माघ सम्ममा हिउदे वर्षा नभए समग्रमा १५ देखि २५ प्रतिशत सम्म गहुँको उत्पादन घटने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । यस बर्ष कृषि ज्ञानकेन्द्र बझाङले ५० प्रतिशत अनुदानमा ६० क्विन्टल जति प्रजनन र उन्नत जातको गहुँको बीउ बितरण गरेको थियो । गहुँबाली उम्रेको २१ दिनभित्र सिँचाइको आवश्यकता पर्ने भएपनि सिँचाइ सुविधा नभएका ठाउँमा समस्या भएको छ ।
































