
बैतडीः प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट अन्तरगत इलाइट च्याम्पियनसिपमा कञ्चनपुरले लगातार तेस्रो जित निकालेकाे छ। तेस्रो जित दर्ता गर्ने क्रममा कञ्चनपुरले बुधबार अछामलाई ६ विकेटले हरायाे।

जितका लागि पाएकाे ९० रनकाे सामान्य लक्ष्य कञ्चनपुरले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे। जसमा किरन ठगुन्नाले ३१ र प्रकाश पाण्डेले अविजित २५ रनकाे याेगदान गरे। अछामका राेहित खड्काले २, युवराज खत्री र अभिषेक चाैधरीले १/१ विकेट लिए।
यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरकाे खेल बाक्लाे हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा २८ ओभरमा झारिएकाे थियाे ।
अछामले टस जितेर पहिला ब्याटिङ गरेकाे २३.२ ओभरमा ८९ रनमा समेटियो । उसका सुरज तिरूवाले ३० तथा युवराज खत्रीले २० रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन समेत जाेड्न सकेनन् । अछामलाई सस्तैमा समेट्न कञ्चनपुरका दीपक चन्द एक्लैले ५ विकेट लिए। यस्तै भरत चन्दले ३ विकेट झारे। दीपक खेलका म्यान अफ द म्याच चुनिएका स्काेरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।


याे जितसंगै कञ्चनपुर ६ अंकका साथ शिर्ष स्थानमा पुग्दै फाइनलकाे सम्भावना बलियाे बनाएकाे छ। कञ्चनपुरले अब अन्तिम खेल शनिबार बैतडीसंग खेल्नेछ। लगातार तेस्रो हार व्यहाेरेकाे अछाम भने प्रतियोगिताबाटै बाहिरिसकेकाे छ। उसले अन्तिम खेल अब शुक्रबार बझाङसंग खेल्नेछ।
दुईखेलमा दुबै जितेकाे बैतडी अंकतालिकाकाे दाेस्राे स्थानमा छ। एकमा हार र एकमा जित निकालेकाे कैलाली तेस्राे र दुबै खेल हारेकाे बझाङ पुछारबाट दाेस्राे स्थानमा छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।































