
धनगढी: सुदुरपश्चिममा करोडौं बजेट खर्चेर विमानस्थल बनाएपनी प्रयोगमा ल्याउन सकिएको छैन् । सञ्चालनमा रहेका पनी धेरै विमानस्थलमा पनि नियमित उडान हुन सकेको छैन। कतिपय त गौचरणमा परिणत भइसकेका छन्।

बैतडीको पाटनमा झन्डै १६ करोड बजेटमा प्राधिकरणले पक्की धावनमार्ग बनायो। माओवादीले भत्काएको रिपिटर टावर पनि बन्यो। समिट एयरले केही महिना उडान पनि भ¥यो। तर, २०७८ चैत १० गतेको उडान नै अन्तिम बन्यो। त्यसपछि यात्रुको अभाव देखाउँदै उडान बन्द गरेको समिट एयरले जनाएको छ।
११ करोड लागतमा धावनमार्ग र ५ करोड लागतमा टर्मिनल भवन बनाइएको हो। यो विमानस्थल फोटो खिच्ने र घुमफिर गर्ने स्थलमा परिणत भएको छ। २०७७ सालमा परीक्षणपछि व्यावसायिक उडानसँगै स्थानीयवासी तथा सरोकारवालाले खुसी व्यक्त गरेका थिए। उनीहरू उडान ठप्प हँुदा निराश बनेका छन्। सरकारले विमानस्थलमा करोडौं लगानी गरेर अलपत्र छाडेको जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमनकुमार भण्डारी बताउँछन्। नियमित उडान नहुने र भाडा पनि महँगो हुनाले यात्रु पाउन मुस्किल हुने गरेका सेवाग्राहीको भनाइ छ।


दीपायलमा पनि २०७९ भदौ ६ गतेदेखि उडान भएको छैन। धनगढीमा जहाज राखेर समिट एयरले दीपायलसहित सुदूरपश्चिमका पक्की विमानस्थलमा उडान भर्दै आएको थियो। समिट एयरलाइन्सले २०७७ असोज १७ गते परीक्षण उडान गरेको थियो। त्यसपश्चात् केही समय हवाई सेवा निरन्तर भए पनि अहिले बन्द छ। समिटले निरन्तरता दिन नसकेपछि नेपाल एयरलाइन्सले सुरु गरेको उडान पनि बन्द छ। डोटी नागरिक उड्डयन कार्यालय दिपायलमा कर्मचारीसमेत छैनन्। रेखदेखका लागि भन्दै एक कर्मचारी भए पनि यस बिषयमा उनलाई कुनै किसिमको जानकारी छैन।
दीपायल विमानस्थल झन्डै ७ करोड लगानीमा कालोपत्रे भएको हो। स्थानीयवासी तेज डुम्रेल भन्छन्, ‘दिपायल विमानस्थल कालोपत्रे हुँदा अब नियमित उडान हुन्छ भन्ने आशा लागेको थियो। तर, फेरि बन्द भइसक्यो।’ लामो समयदेखि जहाज नआए पनि नयाँ भौतिक संरचना निर्माणले भने निरन्तरता पाएको छ। डोटी विमानस्थल आयोजनाअन्र्तगत टर्मिनल भवन र टावर निर्माण भइरहेको छ। जुन बनाउन ५ करोड ९ लाख लागतमा ठेक्का भएको छ।
सुदूरपश्चिममा कैलालीको धनगढी (पक्की) र टीकापुर (कच्ची), कञ्चनपुरको मजगाउँ (निर्माणाधीन), दार्चुलाको गोकुलेश्वर (निर्माणाधीन), बैतडीको पाटन (पक्की), अछामको साँफेबगर (पक्की) र कमल बजार (कच्ची), बझाङको चैनपुर (पक्की), बाजुराको कोल्टी (पक्की) र डोटीको दीपायल (पक्की)मा गरी १० वटा विमानस्थल छन्।धनगढीमा बुद्ध एयर र श्री एयरलाइन्सको ७ वटा उडान दैनिक छ। बाजुरामा पनि उडान भइरहेको छ। साँफेबगर, बझाङको चैनपुरमा सातामा २ दिन समिट एयरले उडान गरे पनि अरू विमानस्थलमा भने कालोपत्रे भएर पनि हवाई सेवा चालू भएको छैन।































