
धनगढी: कैलालीको धनगढीमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा तीन महिलामा क्यान्सरको सङ्क्रमण फेला परेको छ। धनगढी उपमहानगर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको आयोजनामा शनिवार सञ्चालन गरिएको शिविरमा तीन महिलामा क्यान्सर फेला परेको हो।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको निशुल्क क्यान्सर हेल्थ क्याम्पमा १९१ जनाले सेवा लिएका छन । धनगढी उपमहानगरपालिका, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाकेसँग सहकार्य गरेर निशुल्क क्यान्सर हेल्थ क्याम्प सञ्चालन गर्दै आएको छ ।
शनिबार भएको शिविरमा १३८ महिला र ५३ पुरुष गरी १९१ जनाले सेवा लिएका छन । ६३ महिलाको भीआईएबाट पाठेघरको क्यान्सरको जाच गर्दा ३ जनामा पोजेटिभ देखिएको छ भने १० जना क्यान्सर हुनसक्ने आशंका गरिएका, स्तनमा गाठागुठी भएका ६ जनालाई थप उपचारका लागि रेफर गरिएको छ ।


यस्तै घाँटीमा गाठागुठी भएका १ जना, लामो समयदेखि सञ्चो नभएका घाउका बिरामी २ जना, पेटमा गाठागुठी भएका १ जना बिरामीलाई पनि थप जाचको लागी रेफर गरिएको छ । ४ जना क्यान्सर भएका बिरामीहरुले फलोअप सेवा लिएका छन ।
क्याम्पमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डा। निरज भट्टराइ, मेडिकल अन्कोलोजिस्ट डा. साजन थापा, रेडियोलोजी अन्कोलोजिस्ट डा. मुकेश यादव, सर्जन डा. बिपिन गुरागाइ, मेडिकल अफिस द्वय डा. चिरन्जिवि र डा. राम नाथ लगायतको स्वास्थ्यकर्मीको टोली सहभागि थियो ।






























