
बैतडी: प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटकाे ट्रफी सार्वजनिक गरिएको छ।
आयाेजक सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आज ट्रफी सार्वजनिक गरेकाे हाे। सार्वजनिक कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक रमेश बाेहरालगायतको सहभागिता रहेकाे थियोे ।

उक्त कार्यक्रममा दुई टाेलीका कप्तानहरूले आफूहरू ट्रफी जित्न तयार रहेकाे बताएका छन्। उपाधिका लागि मंगलबार बैतडी र कैलाली भिड्दैछन्।
समूह चरणका ४ खेलबाट ३ खेल जित्दै अंकतालिकाकाे शिर्ष स्थानमा रहदै फाइनल पुगेकाले उपाधि जित्नेमा ढुक्क रहेकाे बैतडीका कप्तान वसन्त खत्रीले बताउनुभयो । समूहचरणमा खेलमा गरेका गल्तीलाई सुधार्दै ट्रफी उचाल्नेमा ढुक्क रहेकाे कप्तान खत्रीको दाबी छ।
राष्ट्रिय प्रतियोगिता खेलेका सिनियर र जुनियर खेलाडी मिलेर बनेकाे बलियो टाेली रहेकाले फाइनल खेल जित्ने बैतडीका प्रशिक्षक दिपेन्द्रबहादुर बाेहराले बताउनुभयो ।



बैतडीको कमजोरीकाे फाइदा उठाउदै आफूहरू उपाधि रक्षा गर्ने लक्ष्यमा रहेकाे कैलालीका कप्तान नारायण जाेशीले बताउनुभयो ।
घरेलु मैदान र टिमकाे सबै पक्ष बलियो रहेकाेले ट्रफी हात पार्नेमा कुनै शंका नरहेकाे कैलालीका प्रशिक्षक देवनारायण झाले बताउनुभयो ।
समूह चरणका समान तीन खेल जित्दै बैतडी शिर्ष र कैलाली दाेस्राे स्थानमा रहदै फाइनलमा पुगेकाे हाे।
उपाधि भिडन्त फाप्ला मैदानमा मंगलबार बिहान ९ बजेदेखि शुरू हुनेछ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस ८ गतेदेखि शुरू भएको छनाैट प्रतियोगितामा प्रदेशका
शुरू भएको थियोे । प्रतियोगितामा प्रदेशका ८ जिल्लाकाे सहभागीता रहेकाे थियाे।
प्रादेशिक क्रिकेट संघले एलाइट र प्लेट च्याम्पियनसिप गरेर दुई चरणमा प्रतियोगिता सञ्चालन गरेकाे हाे।
गत वर्षको प्रादेशिक छनाैटमा सेमिफाइनल पुगेका बैतडी,अछाम,कैलाली र कञ्चनपुरले एलाइट र दार्चुला, बझाङ,डडेल्धुरा र डाेटीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।
प्लेट च्याम्पियनसिपबाट क्वालिफायर भएर बझाङले एलाइट च्याम्पियनसिप खेलेकाे थियोे ।
यस छनाैट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमकाे टाेली घाेषणा गरिनेछ ।






























