
धनगढीः कैलालीको धनगढीभित्र रहेका सामुदायिक विद्यालयलाई नमूना बनाउन काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशन र धनगढी उपमहानगरपालिकाबीच सहमति भएको छ।

उपमहानगरपालिकाले नमूना विद्यालय बनाउन यस वर्ष घोषणा गरिएका ५ सामुदायिक विद्यालय र अगामी वर्ष नमूना बनाउने सामुदायिक विद्यालयहरूलाई गुणस्तरीय तथा प्राविधिक शिक्षालाई प्रभावकारी कार्यान्वयन गर्न काठमाडौं विश्वविद्यालय र धनगढी उपमहानगरबीच सहमति भएको हो।


पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि मंगलबार दुवै पक्षबीच सहमति भएको हो। काठमाडौँ विश्वविद्यालयले सिपिइसि युनिटमार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ।
कार्यक्रमको सुरुवातमा सिपिइसि युनिटले धनगढी उपमहानगरपालिकाअन्तर्गतका विद्यालयहरूमा अध्ययन गरी आवश्यकता पहिचान गर्नेछ। उक्त आवश्यकता पहिचानको आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरि लागू गरिने जनाइएको छ।
कार्यक्रमलाई पहिलो वर्षमा पाँचवटा विद्यालयहरू छनोट गरी कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उपमहानगरपालिकाका सबै विद्यालयमा कार्यान्वयन गरिने सहमतिमा उल्लेख छ।सम्झौता पत्रमा काठमाडौँ विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डीन प्राडा बालचन्द्र लुइँटेल र धनगढी उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख गोपाल हमालले हस्ताक्षर गरी कार्य अगाडि बढाउनका लागि पूर्णत दिइएको छ।
सम्झौताको क्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, स्कुल अफ आर्टस्का डीन इकुमाया पुनलगायत स्कुल अफ एजुकेशनका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।

































