
कैलाली र कञ्चनपुरका थारू समुदायको पर्व माघ (माघी) पर्वको तयारीमा जुटेका छन्। माघी पर्वलाई धुमधामसँग मनाउन हप्ता दिन अघिबाट तयारीमा जुटेका हुन्।

थारू बस्तीमा माघका लागि जङ्गलबाट दाउरा ल्याउने, सालको पात टिपेर दुनाटपरी बनाउने,कुटानीपिसानी, सुँगुरको मासुका लागि अन्तिम नामावली तयार पार्नेलगायतका कार्य भइरहेको छ। माघ पर्व यो समुदायको नयाँ वर्ष र नयाँ आर्थिक आयआर्जनको तिथि पनि हो। पुस २९ देखि माघ २ सम्म उल्लासका साथ नाचगान गर्दै पश्चिम कैलालीदेखि पूर्वजिल्लासम्मका थारूले यो पर्वलाई धुमधामसँग मनाउने गरेका छन्। माघ १ बाट थारू संवत् सुरु हुन्छ।

माघ आउन एक हप्ता मात्रै बाँकी रहेकाले माघी पर्वको तयारीमा जुटेको कैलारी गाउँपालिका-७, रामपुरका रामलाल चौधरीले बताए। थारू समुदायका व्यक्तिले माघ पर्वमा सालको पातको दुनाटपरीमा ढिक्री, सुँगुरको मासुलगायत परिकार खाने र घरमा आएका पाहुनालाई त्यसैमा खानाका परिकार दिने चलन रहेको छ ।पर्वमा आगो ताप्न र मिठा परिकार पकाउनका लागि सबै थारू गाउँवासीले जङ्गलबाट दाउरा सङ्कलन गरेर ल्याउने चलन छ।

माघका लागि दुई बयलगाडा दाउरा ल्याएको कैलारी गाउँपालिका–७ कै स्थानीय खेमराज चौधरीले बताए। माघ १ गते बिहानै स्नान गरेर मान्यजनबाट आशीर्वाद लिने र साथीभाइबिच शुभकामना आदानप्रदान गर्दै रमाउने चलन छ। माघ २ गते पर्वको अन्तिम दिन खोज्नीबोज्नी गरेर गएको एक वर्षमा भएका कामकारबाहीको समीक्षा गरी अगाडिका वर्षका लागि योजना बनाउने, गाउँ चलाउन नयाँ नेतृत्व चयन गर्नेलगायतको कार्य हुने गर्दछ । माघ पर्व सकिएसँगै थारू समुदायमा विवाह गर्ने र नयाँ घर बनाउने तथा आर्थिक आयआर्जनका लागि नयाँ व्यवसाय सुरु गर्नेलगायत काम गर्ने चलन रहेको छ । माघीमा देश विदेशमा रहेकाहरू पनि आफ्नो थातथलोतर्फ फर्कन थालेका छन्।गोरखापत्रबाट





























