
बैतडी – बैतडीको सिगास गाउँपालिका वडा नं. ५ मा रहेको श्री भुवनेश्वरी माध्यमिक विद्यालय खैरकोटले ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ। प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम गरी भोलि शुक्रवार मनाउन लागिएको विद्यालयका प्रधानाध्यापक बीरेन्द्र सिह धामीले जानकारी दिनुभयो । तत्कालीन अवस्थामा गोरखाका राजा रहेका पृथ्वीनारायण शाहले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरेका थिए। पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाए। सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायणको सम्झनामा भुवनेश्वरी माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइने प्रधानाध्यापक धामीले बताए । विद्यालयले पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा भोलि बिहान १० बजे देखि ११:३० बजेसम्म ब्यानर सहितको जुलुश, त्यस पछि जुलुशलाई सभामा परिणत गर्ने, त्यसपछि आसन ग्रहण, त्यस पछि राष्ट्रिय गान, त्यस पछि शहीदहरु प्रति मौनधारण, त्यस पछि प्रमुख अतिथि र सभापति द्वारा पृथ्वीनारायणको तस्वीर सामु दीप दान गर्नुको साथै तस्वीरमा माल्यारोपण , नृत्य सहितको स्वागत गीत, सहभागीहरु द्वारा बडामहाराजको तस्वीरमा फुल अर्पण, सहभागी हरु मध्ये पालैपालो गीत गजल मुक्तक मन्त्तब्यहरु, कार्यक्रमको बीच बीचमा नृत्यहरु सहित सभापति द्वारा कार्यक्रम समापनको कार्यक्रम रहेको पनि विद्यालयका प्रधानाध्यापक धामीले बताए । यस्तै राष्ट्रिय दिवस तथा पृथ्वी जयन्ती कार्यक्रम आयोजना गरिने हुदा सम्पुर्ण विद्यार्थीका अभिभावक एवं स्थानिय समाजसेवी, शिक्षाप्रेमी एवं राष्ट्रप्रेमी जनसमुदायलाई उक्त कार्यक्रममा विहान ९:३० बजे उपस्थित भइदिन पनि उहाँले अनुरोध गर्नुभएको छ ।
































