
धनगढी: राष्ट्रियसभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट अपांगता भएका व्यक्तिको समूहमा उमेदवारी दिएका नारायणदत्त भट्टको उमेदवारी कायम भएको छ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका नारायणदत्त भट्ट विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेकोमा उनको उम्मेदवारी कायमै गरिएको हो। सत्तारूढ गठबन्धनकातर्फबाट अपाङ्गतातातर्फ आइतवार उम्मेदवारी दिएका भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका हुन्।

तर, भट्टको उम्मेदवारी कायम गरिएको निर्वाचन कार्यालय, कैलालीका प्रमुख प्रेम भट्टले बताए। उनका अनुसार नारायणदत्त भट्टको उम्मेदवारी निर्वाचन अधिकृतले कानुन सम्मद रहेको भनेका हुन्।नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्टविरुद्ध शारीरिक अपाङ्गताको विषयलाई लिएर उजुरी दर्ता गरिएको थियो। किर्ते अपाङ्गता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको थियो। तर, उनको अपाङ्गता परिचय पत्र किर्ते नभएको आयोगले ठहर गरेको हो।

सुदूरपश्चिमबाट बलदेव बोहरा (अन्य) तथा नारायणदत्त भट्ट (अपाङ्गता, अल्पसंख्यक)लाई उम्मेदवार बनाएको छ। माओवादीले सुदूरपश्चिममा रेणु चन्द (महिला) लाई उम्मेदवार बनाएको छ। त्यस्तै नेकपा एमालेबाट सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता/अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) छन्।सुदूरपश्चिममा तीन पदका लागि ६ उमेदवार छन् । उनीहरूको नामावली निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिएको छ ।राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन हुँदैछ।






























