
अत्तरिया : सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सारबाट असुली हुने राजस्वमा लगातार गिरावट देखिएको छ । आर्थिक वर्ष २०७८\०७९ यता कैलाली भन्सारले राजस्व असुलीको निर्धारित लक्ष्य भेटाउन सकेको छैन। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुनै महिनामा पनि राजस्वको लक्ष्य पूरा हुन सकेन।
यो पाँच महिनामा चार अर्ब ५८ करोड ३५ लाख २५ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा दुई अर्ब ९६ करोड ७१ लाख ३० हजार रुपैयाँ संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए। जुन लक्ष्यको ६२.७३ प्रतिशत मात्र हो। कार्यालयले चालु आर्थिक वर्षमा ११ अर्ब ५८ करोड २४ लाख ७० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको छ। पेट्रोलियम पदार्थ, एलपिजी ग्याँस, ब्ल्याङ्केट, दालमोठ, टायल, मार्बललगायत वस्तुको आयातबाट तुलनात्मकरुपमा बढी राजस्व असुली हुने गरेको छ। चालु वर्षको पाँच महिनामा पेट्रोलियम पदार्थबाट ४३ करोड ७५ लाख रुपैयाँ असुली भएको भन्सार कार्यालयले जनाएको छ। त्यस्तै एलपिजी ग्याँसबाट २८ करोड ५१ लाख, दालमोठ, पापड, भुजियाबाट साढे दुई करोड, ब्ल्याङ्केटबाट एक करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

सामानको आयात घटेकाले राजस्व असुलीमा पनि कमी आएको भन्सार कार्यालयका सूचना अधिकारी खड्काले बताए। भन्सार कार्यालयका अनुसार सबैभन्दा बढी राजस्व असुली हुने पेट्रोलियम पदार्थको आयात दुई वर्षयता घटेको छ। खुला सीमानाका कारण भारतबाट हुने चोरीपैठारी नियन्त्रण गर्न नसक्दा पनि राजस्व असुली प्रभावित भइरहेको छ। गत आर्थिक वर्षमा भन्सार कार्यालयले लक्ष्यको ६७.४१ प्रतिशतमात्र राजस्व असुली गर्न सक्यो । गत वर्ष १२ अर्ब ३० करोड ६६ लाख राजस्व असुलीको लक्ष्य लिएकोमा आठ अर्ब २९ करोड ७३ लाख राजस्व संकलन गरेको थियो । गत वर्ष राजस्व संकलन लक्ष्यभन्दा न्यून भएपछि चालु वर्षको लक्ष्य नै गत वर्षभन्दा कम तोकिएको छ।

आर्थिक वर्ष २०७८\०७९ मा ११ अर्ब ८२ करोड ३९ लाख राजस्व असुलीको लक्ष्य रहेकोमा नौ अर्ब ५८ करोड २६ लाख (८१.०४) प्रतिशत संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए। आर्थिक वर्ष २०७७\०७८ मा भने भन्सारले लक्ष्यभन्दा बढी १०७.५९ प्रतिशत राजस्व असुली गरेको थियो । उक्त वर्ष आठ अर्ब २१ करोड ७३ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य निर्धारण गरिएकोमा भन्सारले आठ अर्ब ८४ करोड १४ लाख रुपैयाँ राजस्व असुली गरेको थियो।

त्रिनगर नाकाबाट निर्यात न्यून मात्रामा हुने भएकाले निर्यातबाट असुली हुने राजस्व भने न्यून छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा निर्यात भएका बस्तुबाट दुई लाख छ हजार राजस्व असुल गरेको छ । भन्सार कार्यालयका अनुसार यो नाकाबाट कत्था, टार्पेन तेल र पिना भारत निर्यात हुने गरेको छ।





























