
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुराम धाममा माघे संक्रान्तिको अवसरमा आइतबार राति भव्य मकर स्नान मेला लाग्दै छ । चार धाममध्येको एक धाम परशुराम धाममा पुस मसान्त तथा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ ।

परशुराम धाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपश्चात होम गरेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ । भगवान परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुराम धाम राखिन गएको पुराणमा उल्लेख गरिएको छ ।
पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने गर्दछन् । त्यसो गर्नाले धर्म कमाइने विश्वास छ । माघ १ गते अर्थात् सोमबार बिहान ४ बजेदेखि महाकाली किनारमा नुहाउने भक्तजनहरूको पनि भीड लाग्छ । माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ ।

नेपाल–भारतको सीमा भई बग्ने महाकाली नदी किनारमा रहेको परशुराम धाममा गरिने मकर स्नानलाई धार्मिक रूपमा महत्त्वपूर्ण मानिन्छ । मेला भर्न सुदूरपश्चिमका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आउने गरेका छन् । माघे संक्रान्तीबाहेक औँशी, पूर्णिमा तथा ग्रहण लागेको समयमा पनि यस क्षेत्रबाट टाढाटाढाबाट दर्शनाथीहरू आउँछन् ।

विश्व हिन्दु युवा संघ डडेल्धुराले मकर संक्रान्तिको अवसरमा परशुरामधाममा आइतबार र सोमबार आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
एकातिर चूरे पर्वत शृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि एकसय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्गबाट पुग्न सकिन्छ ।
स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए । पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमिमा परशुरामले तपस्या सफल पारे । परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन् । ‘सबै तीर्थ पटक–पटक, परशुराम एकपटक’ स्कन्दपुराणको मानसखण्डमा उल्लिखित यो भनाइले नै परशुराम धामको धार्मिक महत्व दर्शाउँछ ।






























