धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने

Image
Nisarga Hospital

धनगढी : क्रिकेटको शहर धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

CP Hospital Dhangadhi

उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरे । दुबै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको हो । नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनौटमा परेका धनगढी वडानम्बर १२ स्थित श्री सिद्धनाथ मावि, जुगेडा र धनगढी वडानम्बर १८ स्थित श्री चन्द्रोदय मावि, फुलबारीमा उक्त कार्यक्रम लागु हुने भएको छ ।

नगरप्रमुख गोपाल हमालले नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । ‘नयाँ प्रतिभालाई उत्पादन गर्ने उदेश्यका साथ हामीले विगतदेखि नै धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गर्न अग्रसर भईरहनुभएका सुवाश शाहीको टिमसँग क्रिकेट विकास कार्यक्रमको सम्झौता गरेका छौं । यो नमूना स्कुलमा क्रिकेटको नर्सरी तयार गर्ने समझदारी हो । क्रमिक रुपमा अन्य विद्यालयहरुमा यो कार्यक्रम लागु गर्दै जानेछौं । यस कार्यक्रमले धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गर्ने अभियानलाई मुर्तरुप दिने विश्वास लिएको छु,’ हमालले भने ।

nawajiwan
Attariya Hospital

गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको बताए । ‘ग्रासरुट लेभल क्रिकेट विकास कार्यक्रमको प्रस्तावलाई स्वीकार्दै साझेदारीको हात अगाडि बढाउने धनगढी उपमहानगरपालिका र नगरप्रमुख गोपाल हमाल ज्यूलाई विशेष धन्यवाद दिन चाहान्छु । नेपाली क्रिकेटको विकासका लागि स्थानीय तहसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम मोडेलका रुपमा स्थापित भएको छ । भविष्यमा नेपालबाट अन्तर्राष्ट्रिय खेल्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँन चाहान्छौं,’ शाहीले भने ।

धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गर्न गो ड्रिमर्सको टिमले विगतदेखि नै धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिगसम्मका व्यवसायिक क्रिकेट प्रतियोगिताहरु, नेपालमै पहिलो पटक क्रिकेट खेलाडीको अक्सन, धनगढी एफसीलाई लगातार दुईपटक नेपाल सुपर लिगको उपविजेता बनाइसकेको गो ड्रिमर्सले धनगढीलाई ग्लोबल सिटीका रुपमा विकास गर्न निरन्तर भूमिका निर्वाह गरिरहेको छ ।

उपमहानगरपालिकासँग भएको ग्रासरुट लेभलको क्रिकेट विकास कार्यक्रम थुप्रै प्रतिभावान खेलाडीहरु रहेको सुदूरपश्चिम प्रदेशका लागि वरदान सावित हुने विश्वास लिएको शाहीले बताए । यस कार्यक्रममा सामुदायिक विद्यार्थीहरुका विद्यार्थीहरुलाई क्रिकेटका आधारभूत कुराहरु सिकाउन, उनीहरुको क्षमता अभिवृद्धि गर्न, खेलप्रतिको लगाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । समझदारी अुनसार दुई विद्यालयमा क्रिकेटका आधारभूत संरचनाको विकास गर्दै क्रिकेट प्रशिक्षकको व्यवस्था गरि नियमित प्रशिक्षण दिलाइने भएको छ ।