
आफूपनि गाउँमा जन्मेकाे, गाउँमै हुर्केको, गाउँकै विद्यालयमा पढेकाे र गाउँकै मानिसहरूसँग हातेमालो गरेकाे गाउँले भएकाेले विगतकाे गाउँले जीवन र अहिलेकाे गाउँले जीवनमा धरै भिन्नता पाएकाे महसुस गरेकाे छुँ । गाउँले जीवनकाे कुरागर्दा कताबाट कसरी सुरु गर्ने ? केहि अडकलभने आइरहेकाे छैन् ।

गाउँकाे घरकाे चुलाेचाैकीबाट सुरुगर्न चाहे । उहिले गाउँमा प्राय: सबैकाे घरमा दुहुना भैंसी, एकहल गाेरु, एक/दुईवटा गाई, बाख्राहरू हुन्थे । गाउँका महिला दिदीबहिनीहरू, आामा, काकी, फूपू, बाैजु, बाैरानी, श्रीमती आदि सबैले सबेरै करिब ४:०० बजेतिर आँखा मिच्दै उठेर जाताे पिस्नु पर्दथ्याे । तत्पश्चात झिसमिसेमा गाेठकाे मल (पर्साे) हाल्ने, आगन (खलाे) बढार्ने गर्दथे । गाईभैंसी दुहुनु पर्दथ्याे । पुरुष जातिभने भलादमी पारामा बिहान ६:०० बजेसम्म घुरेर सुतेका हुन्थे । धन्य हामी पुरुष जाति महिलाकाे पीडा नबुझ्ने । अनि चुलाेचाैकी गर्ने, कलेउ पकाउने र हतार हतारमा खाएर पटुकी बाधी आँचलमा गेडा खाजा बाेकेर आँसी ज्याैडाे र आँसी कार्ने ढुङ्गा सहित बाेकेर वनजंगल जाने गर्दथे । अहिलेका ग्रामीण महिलाहरू घाँस काट्न जाँदा डाेकाे लगेर जान्छन् र हातमा माेबाइल बाेकेका हुन्छन् ।
आधुनिक ग्रामीण जीवनकाे कुरागर्दा हामी पुरुषहरूपनि महिलाकाे पीडा बुझ्ने भएका छाैं । गाउँका घरहरूमा गाईभैंसी बिरलै देखिन्छन् । हलगाेरुपनि कमै देखिन्छन् । जाताे पिस्ने कामलाई पूर्णरुपमा निरुत्साहित गरिएकाे छ । गाउँगाउँमा चक्की (मिल) हरू रहेका छन् । गाउँमा पानीघट्टकाे प्रयाेग पनि कम हुँदै गएकाे देखिन्छ । महिलाहरूले बिहानै ४:०० बजेतिर आँखा मिच्दै उठन छाेडिसकेका छन् ।
गाईभैंसी, हलगाेरु, बाख्रा नभएपछि मलपर्साे साेर्ने कुरा भएन । बिहानै उठेर कलेउ खाएर गेडागुडी, आँसी, ज्याैडाेकाे तामझाम सहित वनजंगल जाने कुरापनि भएन । अहिलेका ग्रामीण महिलाहरूकाे हातहातमा माेबाइल छन् । हामी पुरुष जस्तै बिहान ६:०० बजेसम्म घुरेर सुत्ने गर्दछन भन्दा अतिशयाेक्ति नहाेला । यस लेखमा जे कुरा लेखिएपनि महिलाहररूलाई म सम्मान गर्दछु ।

पहाडी ग्रामीण समुदायमा मकै, काेदाे, फापर लगायतका बालीहरूकाे उत्पादन बढीहुने र धान, गहुँकाे उत्पादन कम हुनेहुँदा मकैकाे राेटी, फापरकाे साग तथा हरियाे धनिया र खुर्सानी हालेकाे नुन र भैंसीकाे छाईँसित मज्जाले दिनकाे सबै छाक टार्ने गर्दथे । अहिले एकछाक दालभात, तरकारी र बिहान साँझ गहुँकाे राेटी तरकारी नखाने मान्छे भेटाउन गाह्राे छ । मकैलाई त गाईभैंसी भएका घरमा ओखलमा कुटेर खाेलानी (पिंडाे) बनाउने काम बाहेक अरु प्रयाेजन देखिदैन ।
परम्परागत ग्रामीण समुदायमा झाेराे दाउरा नभएमा चुल्हाे बल्दैनथ्याे, अहिले गाउँका कतिपय घरहरूमा झाेराे दाउराकाे चलन हट्दै गएकाे देखिन्छ । अहिले ग्यास चुल्हाे र विद्युतिय चुल्हाेकाे प्रयाेग हुन थालेकाे छ । घरमा उज्यालाेकाेलागि प्रयाेग गरिने झाेराे, लैम्प, दियाे, लालटिन, गैस पूर्णरूपमा विस्थापित हुँदै गएकाे छ । घरघरमा झिलिमिली वत्तीहरू जडान गरिएका छन् । ओडने ओछ्याउने सुत्ने तरिकामा पनि व्यापक परिवर्तन भएकाे छ । परालबाट निर्मित फिनी र दरी कुनैपनि घरमा देख्न सकिदैन । अहिले सुकिला खाेल हालेका सिरक र गद्दाहरू गाउँका सबै घरहरूमा छन् ।
यतिमात्र हाेइन हजुर ! घरमा पाहुना, इष्टमित्र अतिथि आउँदा गरिने सत्कारकाे तरिकामा पनि परिवर्तन भएकाे छ । उहिले घरमा पाहुना आउँदा सेलरोटी, माणा, हलुवा, खीर, घिउभात आदिकाे परिकारले अतिथि सत्कार हुन्थ्याेभने अहिले अतिथि सत्कारकाेलागि दुईखुट्टे वा चारखुट्टे पशुपंक्षीकाे मासु, भाेडका बियर र सूर्य, शिखर चुराेटले स्वागत गरिन्छ । राेपाई पर्साईं हुँदा पत्थने राेटी, केराकाे पातमा राखेकाे घिउ, तरकारी, मह, केरा, पिंडालु, गिठा, साँझकाे सेलराेटीकाे चलनपनि हट्दै गएकाे देखिन्छ । बरु एकगास राेटी र भाेडका बियर मासुभए पुग्ने भएकाे छ ।
वर्षातमा पानीबाट बच्न मालुकाे पातबाट निर्मित पातलाेकाे प्रयाेग पूर्णरूपमा हराएकाे छ । यसकाे बदलामा आधुनिक छाताहरूकाे प्रयाेग गरिएकाे देख्न सकिन्छ । हलाे जाेत्दा नाङ्गो खुट्टा र कच्छा लगाउने चलनपनि हटिसकेकाे छ ।

बरु आधुनिक कुर्ता पैजामा र जुत्ता लगाएर हलाे जाेत्ने गरिन्छ । उहिले गाउँमा नुहाउन, लत्ताकपडा धुन प्रयाेग गरिने रिठा, पिना, अटिन्नेकाे जरालाई विस्थापित गरेर आधुनिक बासनादार लिरिल, लक्स, लाइफबाय आदि साबुनकाे प्रयाेग गरिन्छ । गाउँमा चियासँग गुड, मिस्रीकाे कट्कीकाे ठाउँमा आजभाेली गाउँमापनि चिनी मिश्रित चियाकाे स्वाद चाख्न पाइन्छ । ताेरी, सर्साें, चिउरी आदिकाे तेल निकाल्न प्रयाेग गरिने परम्परागत काेल्हुकाे बदलामा मिलबाट तेल निकाल्ने चलन बढदाे छ ।बन्ढी, काच्छा र ठाडी धाेतीमा सजिने गाउँका बुढापाकाहरू अचेल कुर्ता पैजामा, दाैरा सुरुवाल, ढाका टाेपीकाे सुकिलाे पाेशाकमा देख्न सकिन्छ । मकै भाँचेर उधाडेर घाममा सुकाइ भकारीमा हाल्ने चलन हटेर आजभाेली पहाडका प्राय: सबै घरहरूमा मकैका लुटाहरू देख्न सकिन्छ ।
उहिले गाउँमा दिसापिसाब गर्न जंगल, झाडी, झाङमा जाने गर्दथे । आजभाेली गाउँका हरेक घरहरूमा पाइखाना देख्न सकिन्छ । दाँत माझ्न प्रयाेग गरिने दतिवन, अंगारकाे बदलामा आजभाेली सेन्साेडाइन, पेप्साेडेण्ट, काेलगेट ब्रुसकाे प्रयाेग गर्ने गर्दछन् गाउँमा । यतिमात्र नभएर अहिले गाउँमा फास्टफुड, जङ्क फुडहरूकाे प्रयाेग पनि बढिरहेको छ । उहिले गाउँमा केटाकाेलागि कन्या खाेज्न जान्थे र चिठा मिलाएर विवाह गर्ने गर्दथे, आजभाेली मेसेञ्जर, फेसबुककाे माध्यमबाट केटाकेटीकाे विवाहकाे चलन बढ्दाे छ । पहिलेकाे २ दिने विवाहलाई १ (वानडे) दिनमा सिमित पारिएकाे छ । पहिलेकाे बेलीबटन पाइन्ट, एलटी जाकेट, कम्मरमा खुकुरी, कुरमुली, घाँटीमा दुबाे र रुपैयाँकाे मालाकाे बदला आधुनिक महङ्गा तडकभडकका विवाह पाेशाकलाई गाउँमा प्राथमिकतामा राखिएकाे छ ।
गाउँमा पनि दमाहा, झ्याली, विगुल सहितकाे पञ्चेबाजा र छलियाँ नाचकाे ठाउँमा आधुनिक बैण्ड बाजाकाे चलन भित्रिएकाे छ । पहिले विवाहमा डाेली, तापदानी हुन्थ्याेभने अहिले गाउँमा डाेली, तापदानी देख्न पनि पाइदैन । गाडी, कारकाे बाहिर विवाह प्रणयका पाेष्टरले सुसज्जित विवाह देख्न सकिन्छ । पहिले गाउँमा पुरुषमात्र विवाह जन्ती जाने गर्दथे भने अहिले नरनारीकाे जत्था नै जन्ती बरेती जाने गर्दछन् । गाउँमा कुनै मानिस बिरामीहुँदा वा मृत्युु हुँदा डाँकाे (ठुलाे आवाज) लगाउने गर्दथे भने अहिले फाेन, फेसबुक लगायतका सामाजिक सञ्जालबाट डाँकाे लगाउने (खबर गर्ने) चलन रहेकाे छ ।
पहिले गाउँमा महिलाहरू महिनावारी हुँदा वा सुत्केरी हुँदा छाउपडी गाेठमा बस्ने गर्दथे भने आजभाेली छाउपडी गाेठमा बस्ने चलन हटेकाे छ । गाेठमा सुत्केरी हुने चलन हटेर आजभाेली स्वास्थ्य संस्थामा सुत्केरी गराउने चलन बढ्दाे छ । पहिले सुत्केरी हुँदा नाै दिनसम्म शिशुकाे स्याहार स्वयम् सुत्केरी महिलाले गर्नु पर्दथ्याे भने आजभाेली सुत्केरी र शिशुकाे स्याहार अरुले नै गर्दछन् । पहिलेका ग्रामीण महिलाहरूकाे पहिरन र अहिलेका ग्रामीण महिलाहरूकाे पहिरनमा व्यापक भिन्नता छ । पहिलेका ग्रामीण महिलाहरू घरधन्दामा पेटीकाेट बाहिर लुङ्गीकाे पहिरन हुन्थ्याे भने अहिले पेटीकाेट बाहिर लगाउने लुङ्गीकाे चलन पूर्णरूपमा हटिसकेकाे छ । अहिले ग्रामीण महिलाहरू अधिकजसाे कुर्ता सुरुवाल र केही महिलाहरू मेक्सी लगाउने गर्दछन् घरधन्दाकाे काममा । परम्परागत चाैबन्दी, गुन्यु चाेलाे र १२/१४ पाटाकाे घाँघराे लगाउने चलन पूर्णरूपमा लाेप भइसकेको छ । पहिले गाउँमा टाढाटाढाबाट तामाकाे गाग्राे (फाेंलाे) मा पानी बाेक्नु पर्दथ्याे भने अहिले गाउँका प्राय: सबै घरहरूमा पानीका धाराहरू जडान गरिएका छन् ।
यति गन्थन गरिसकेपछि अलिकति परम्परागत विहेबारीलाई पनि जाेड्नु सान्दर्भिक देखिन्छ । परम्परागत विहेभाेजमा ब्राह्मण भान्छे हुन्थे । सबै न्युतेरहरू केराकाे पातकाे आँथराेमा दालभात, तरकारी र हेलुवा खाने गर्दथे । कन्या खाेज्ने काम लमीले गर्दथे । केटाकेटीकाे भेटघाट नै नभइकन गरगहना (गलाेबन्द, पैंडा, सुता, बाला, पाैंजी, नत्थु) र जग्गा जमिन तथा गाईभैंसीकाे कुरा गरिन्थ्याे भने आजभाेली केटाकेटीकाे कुरा मिले पुग्छ र लमीकाे खासै आवश्यकता हुदैन । जय हाेस सबैकाे !
धन्यवाद !
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका – ४ हुनैनाथ गाेठ्युडी, काेटबुङा
दार्चुला































