कञ्चनपुरमा ‘बेलौरी’ तोरीको तेल उत्पादन गर्ने उद्योग सञ्चालनमा

Image
Nisarga Hospital

हरिश्चन्द्र बाग/ कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयको अनुदान सहयोगमा बेलौरीस्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ‘बेलौरी’ तोरीको तेल उद्योग सञ्चालनमा ल्याएको छ । बेलौरी नगरपालिका वडा नम्बर ४ नयाँ रिछाहामा शुद्ध तोरीको तेल उद्योग सञ्चालनमा ल्याइएको हो । सोमबार औपचारिक कार्यक्रम नै आयोजना गरी बेलौरी तोरीको तेल ब्राण्डिङ्ग, लेबलिङ्ग तथा प्याकेजिङ्ग उद्योगको उद्घाटन गरिएको छ । त्यस क्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारी र प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले उक्त उद्योगले उत्पादन गर्ने तेललाई ब्राण्डिङ्ग, लेबलिङ्ग र प्याकेजिङ्गमा आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गरिने आश्वासन दिनुभयो ।

CP Hospital Dhangadhi

कञ्चनपुर जिल्लामै प्रशोधन सहितको शुद्ध तोरीको तेल उत्पादन गर्ने यो पहिलो उद्योग भएको बेलौरी नगरपालिकाको दाबी छ । झण्डै रु ३० लाख लागतमा तोरीको तेल उद्योग सञ्चालनमा ल्याइएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो । बेलौरी नगरपालिका कार्यालयको रु. १५ लाख, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको रु. १० लाख र सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रु. ५ लाख गरी जम्मा रु. ३० लाखको लगानी रहेको बताइएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले अब आफ्नै क्षेत्रमा उत्पादित तोरीको तेल प्रयोग गर्न नगरवासीलाई अनुरोध गर्नुभयो ।

भारतसँग सीमा जोडिएको क्षेत्र भएकोले भारतीय बजारबाट भित्रिने अखाद्य तेलको उपभोग बढिरहेको बेला नागरिकको स्वास्थ्य र कृषि उत्पादनलाई मध्यनजर गर्दै उद्योग सञ्चालन गरिएको सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सीता चौधरीले बताउनु भएको छ । उक्त तोरी उद्योगले सोही क्षेत्रका किसानबाट कच्चा पदार्थ खरिद गर्ने, त्यही कच्चा पदार्थको प्रशोधन सहितको शुद्ध तोरीको तेल बजारमा बिक्री वितरण गर्ने सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक राजेन्द्र बहादुर सिंहले बताउनु भएको छ । पछिल्लो समयमा कञ्चनपुरको दक्षिणी क्षेत्रमा तोरी खेती क्रमिक रूपमा बढ्दै गएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कच्चा पदार्थको अभाव हुन नदिन किसानलाई नगरपालिका मार्फत तोरी उत्पादनका लागि प्रवर्द्धनात्मक कार्यक्रम गर्ने नगरपालिकाको योजना छ । किसानलाई बिउबिजनदेखि अनुदानका कार्यक्रम सञ्चालन गरेर तोरी उत्पादनलाई प्रोत्साहन गरिने नगरपालिकाको कृषि विकास शाखाका संयोजक सुमनराज जोशीले बताउनुभयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका लेखा संयोजक मनराज उपाध्यायले दक्षिणी क्षेत्रमा तोरीको राम्रो सम्भावना भएकोले सहकारीले स्थानीय तह सहितका सरकारी निकायसँग समन्वय गरी उद्योग सञ्चालनमा ल्याएको बताउनु भयो । कञ्चनपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमसिंह भाटले उद्योग सञ्चालनमा आएसँगै किसान र आम उपभोक्ताबिच सम्बन्ध विस्तारदेखि स्वदेशी बस्तु तथा सेवा उत्पादन, बजारीकरण र प्रवर्द्धन हुने बताउनु भयो । दैनिक पाँच सय लिटर तेल उत्पादन गर्ने क्षमताको मेसिन सञ्चालनमा छ । ‘बेलौरी’ तोरीको तेल उपभोग गर्न नागरिक प्रतीक्षारत छन् ।

Dhnagadhi & Krishanapur