
अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको दरखास्त प्रक्रिया स्थगन गरिएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले हाललाई दरखास्तको प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो । समितिले २५ माघ २०८० मा उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । यस्तै, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको दरखास्त पनि स्थगन गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पनि सोही मितिमा दरखास्त आह्वान गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयको तुलनामा मापदण्ड कडा बनाइएको भन्दै सुदूरपश्चिम र मध्यपश्चिम प्राध्यापक सङ्घले प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र संसद्को शिक्षा समितिमा उजुरी दिएको थियो । फरक फरक विश्वविद्यालयको हकमा फरक फरक खालको मापदण्ड तय गरिएको भन्दै विरोध भएपछि समितिले तत्काललाई दरखास्त प्रक्रिया स्थगित गरेको हो ।






































