जोरायलको नकु गाउँमा छाउपडी बारे कार्यक्रम चल्दै गर्दा सर्प देखिएपछि महिलाहरु यसरी कामे

Image
Nisarga Hospital

डोटी: डोटीको जोरायल गाउँपालिका ४ को नकु गाउँमा सोमबार छाउपडी कुप्रथा बारे सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

युनिसेफ सङ्गको साझेदारीमा जोरायल गाउँपालिकाले सामाजिक कुप्रथाका रूपमा जरा गाडेर रहेको छाउपडी प्रथा अन्त्य गर्न छाउपडी गोठ हटाई महिनावारि भएको बेला महिलाहरुलाई सुरक्षित घरभित्र बस्ने वातावरण सिर्जना गर्न सचेतना कार्यक्रम सम्पन्न गरेको जोरायल गाउँपालिकाका बाल संरक्षण अधिकृत डम्मर बहादुर बोहराले बताए ।

कार्यक्रम चल्दै गर्दा बिचैमा सर्प आउँपछि के भयो त ?
नकु गाउँमा रहेको मट्टे देवताको मन्दिर प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको थियो । जोरायल गाउँपालिका ४ का वडा अध्यक्ष नन्दराज भट्टको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उद्घोषक करन साउदले सहभागीलाई आशन ग्रहण गराएपश्चात् मन्तव्य शुरु भयो ।

nawajiwan

तत्पश्चात कार्यक्रम संचालकले बिदा माग्दै आफ्नो भनाइ सहित कार्यक्रम समापनको लागि सभा अध्यक्ष एवं जोरायल गाउँपालिका ४ का वडा अध्यक्ष नन्दराज भट्टलाई आग्रह गरे । वडा अध्यक्ष भट्टले थुप्रै महत्त्वपूर्ण कुराहरु राखिसकेका थिए । खासगरी नकु गाउँमा अहिलेसम्म पनि छाउपडी गोठ रहेकोले गोठ भत्काउन आग्रह सहित कार्यक्रम राखिएको थियो । गाउँपालिकाभित्र केहि गाउँमा अझै छाउपडी गोठ कायमै रहेको भन्दै जोरायल गाउँपालिकाले गएको माघ ७ गते १५ दिने अल्टिमेटम पत्र पनि काटेको थियो । तर नकु गाउँमा त्यसपछि पनि छाउ गोठ कायमै रहेपछि फ़ेरि एकपटक सोमबार कार्यक्रम गरिएको हो । सोमबारको कार्यक्रममा बोल्दै गरेका वडा अध्यक्ष भट्टले फ़ेरि ७ दिनको म्याद सहित अल्टिमेटम दिएका थिए ।

छाउपडी नमाने देउता रिसाउने प्रसङ्गमा उनलेे स्थानीय समुदायलाई अनुरोध गर्दै सुरक्षित घरभित्र बस्न, सरसफाइमा ध्यान दिन, पोषिला खानेकुरा खान र आराम गर्न आग्रह गर्दैगर्दा एकाएक एउटा सर्प देखियो । मट्टे देवताको मन्दिरको प्राङ्गणमा लगाइएको डिलतर्फको पर्खालमा सबै सहभागीको बीचमा बसेका स्थानीय लालबहादुर बोहराको हातमै छोएर आएको सर्पलाई उनलेे पर्खालभन्दा तल फाल्दिए । करिब ६/७ मिटर पर जङ्गल भएको ठाउँतर्फ गएको सर्प फ़ेरि कार्यक्रमका सहभागीको भिडको बीचमा आउन थालेपछि सहभागी तितरबितर भए । वड अध्यक्षको मन्तव्य विथोलियो ।

Attariya Hospital

सर्प मन्दिरतर्फ फर्कियो र मन्दिरको पेटी हुँदै मन्दिरको माथीपट्टीको देवताको स्थापना स्थल नजिकै गयो । यति हुँदासम्म ४ जना महिलाहरू काम्न थालिसकेका थिए । सर्प बिस्तारै डाडातर्फ उक्ल्यो । करिब २५ मिटर माथी उक्लिदासम्म देखियो र सहजपुर जोरायल जोड्ने सडकसम्म पुगेको थियो । सहभागीहरु त्यसपछि सर्पको पिछा गर्न कोही गएनन् । किनकि त्यसपछि सबैको ध्यान काम्ने महिलाहरुमा थियो ।

पहिले कार्यक्रममा मुख खोलेर विरोध वा कुनै प्रतिक्रिया नदिएका स्थानीय महिलाहरु यति भैसकेपछी भने देवता रिसाएको भन्दै तर्क वितर्क गर्न थाले । यद्यपि सहभागीमध्ये ९५ प्रतिशत बढी स्थानीय छाउपढी गोठ हटाउन सकारात्मक थिए । त्यसपछि वडा अध्यक्ष नन्दराज भट्टले काम्ने महिलासङ्ग निकास के हो त भन्दै प्रश्न तेर्साए । महिलाहरुलाई छाउ गोठमा नभई सुरक्षित घरभित्र बस्नुपर्ने, सरकारी निति नियम पालना गर्नुपर्ने, कुरिती हटाउनुपर्ने विषयमा देउता रिसाउने भए ती देउता आफैलाई लागुन भन्नसम्म भ्याए । तर एकाएक देखिएको सर्प र त्यसपछिको माहोलमा सजिलै सबै कुरा भन्न पाएनन् । काम्ने महिलाबाटै स्थानीय सबैभन्दा ठुला देवता गङौरी केदारका धामी राखेर देउता सोधपुछ गर्नुपर्ने भनेपछि सोही सहमति भयो । अन्तमा वडा अध्यक्ष भट्टले कार्यक्रम समापनको घोषणा गरे ।
कतिपयले कार्यक्रमको बीचमा मानिसको भिडमा सर्प देखिनु संयोग भएको तर्क गरे भने कतिपयले देउता रिसाएको तर्क गरे ।

स्थानीय बासिन्दाकै अनुसार नकु गाउँमा ४/५ वटा छुट्टै छाउपडी गोठ रहेका छन् । त्यसका साथै बाख्राको खोरको माथि समेत महिलाहरु सुत्ने गरेको हुनाले करिब १३/१४ वटा छाउपडी गोठ रहेकोे बुझिएको छ ।
धार्मिक मान्यता अनुसार देवी देवता मान्ने भए पनि छाउपडी जस्ता प्रथाको अन्त्य गर्नुपर्ने स्थानीय ६० वर्षीय लिलाधर बोहरा बताउँछन् । “न देउताको थानमा जाने हो, न पूजा कोठामा जाने हो, केवल सुरक्षित बस्ने कुरा मान्दैनौं भन्न हुँदैन र मिल्दैन”-उनको भनाइ थियो ।

जोरायल गाउँपालिकाभित्र नकु, उल्जे, खतेना, चौड गाउँमा छाउपडी गोठ रहेको पालिका श्रोतले जनाएको छ ।

स्थानीय समुदायले आफै सरिक भइ छाउपडी प्रथा अन्त्य गर्न लाग्नुपर्ने र नमानेपछि कानुनी तवरले अगाडि बढ्ने जोरायल गाउँपालिकाको निष्कर्ष रहेको छ ।