निःशुल्क आँखा शिविरबाट दुईहजार जना लाभान्वित

Image
Nisarga Hospital

बैतडी: बैतडीका तीन स्थानमा सम्पन्न निःशुल्क शल्यक्रियासहितको आँखा शिविरबाट दुईहजार जना लाभान्वित भएका छन्। जिल्लाकाे शिवनाथ गाउँपालिकाकाे सुल्लेखान,सुर्नया गाउँपालिका र जिल्ला अस्पतालमा सम्पन्न शिविरबाट दुइहजार जना लाभान्वित भएका हुन्।
शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेस नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा दुई दिन सञ्चालन भएको शिविरबाट ६ सय ३३ जनाले आँखाको जाँच गराएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिनुभयाे ।

CP Hospital Dhangadhi

शिविरमा आएका मध्ये १ सय ६ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ भने ४ जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको छ ।

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकहरुले शिविरमा सेवा लिएका हुन् । आफ्नै गाउँठाउँबाट शल्यक्रियासहितको शिविरबाट आँखासम्बन्धि सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयाे। उहाँले भन्नुभयाे,”गाउँपालिकाबासी र आसपासका नागरिकलाई मध्यनजर गरेर शिविरको आयोजना गरिएको हाे,गाउँमै आँखासम्बन्धि सेवा पाउँदा नागरिक खुसी छन्।”

nawajiwan
Attariya Hospital

यस्तै यस्तै सुर्नया गाउँपालिकाको शंकरपुर स्वास्थ्यचौकीमा आयोजना गरिएको शिविरमा ८ सय ५ जनाले सेवा लिएकोमा ९५ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिनुभयाे।
नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

यसअघि जिल्ला अस्पताल बैतडीमा वैशाख २७ र २८ गते गरी दुई दिन सञ्चालन भएको शिविरमा ५ सय ६५ जनाले सेवा लिएका छन् । शिविरमा आँखा जाँच गराउन आएकामध्ये ६० जना पुरुष र ६७ जना महिला गरेर १ सय २७ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । जिल्लाकै अस्पातलमा मोतीबिन्दुको शल्यक्रियापछि दृष्टि देख्न पाउँदा नागरिक निकै खुसी भएका छन् ।

धनगढी नेत्रालयले गएको साता जिल्लाको पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा पनि शल्यक्रियासहितको शिविरको आयोजना गरेको थियाे।