
बझाङः बाल अधिकार सम्बन्धी समग्र पक्षको प्रवर्धन गरी स्थानीय तहमा बाल अधिकारलाई सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको अवधारणा सम्बन्धी तालिम सम्पन्न भएको छ । यही जेठ ७ गते देखि सञ्चालन भएको तालिम आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो । प्रगतिशील युवा समाज र वल्र्डभिजन इन्टरनेशनल नेपालको आयोजना जयपृथ्बी नगरपालिकाको समन्वयमा सदरमुकाम चैनपुरमा तालिम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगर बाल क्लब सँजालका अध्यक्ष अर्जुन जोशीले बिगतमा नगरपालिकाले बालबालिकाका सबाल तथा योजनाहरूमा ध्यान नदिएको र बजेट समेत विनियोजन नगरेको भन्देैे आक्रोश पोख्नुभयो ।
बालअधिकार महा सन्धिका सिद्धान्त, बाल सहभागीता, बालमैत्री स्थानीय शासनका लागि बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासनको सिद्धान्त र जीवन प्रवाह, बालमैत्री स्थानीय शासनका न्यूनतम सूचक र स्थानीय निकायको योजना प्रक्रियामा बाल सहभागीता लगायतका विषय स्थानीय तहले ध्यान दिनुपर्ने प्रगतिशील युवा समाजका कार्य समिति सह सचिव प्रबिन्द्र धामीले बताउनुभयो । बाल अधिकार सम्बन्धी सेवा प्रवाहका न्यूनतम सूचकको बारेमा जानकारीका साथै समग्र शासकीय प्रक्रियामा बालबालिकाका सवालहरूलाई आबद्ध गरी नगरपालिकालाई सुशासन तर्फ अभिप्रेरित गर्न सघाउने उहाँको भनाइ थियो ।

नेपालको संविधानमा उल्लेख भएको बाल अधिकार सम्बन्धी व्यवस्थालाई स्थानीय तहको नीति संरचना र कार्यान्वयन प्रक्रियामा समावेश गर्न नगरपालिका तयार रहेको जयपृथ्बी नगरपालिका नगर प्रमुख चेतराज बजालले बताउनुभयो । बालमैत्री घोषणा गर्न धेरै सुचँकहरू पार गर्नुपर्ने भएकाले भने जस्तो सजिलो नभएपनि बनाएको कार्ययोजना अनुसार बालमैत्री घोषणा गर्ने तयारीमा लागी परेको बताउनुभयो । साथै आगामी बजेटमा बालबालिकाको क्षेत्रमा लगानी गर्ने बताउनुभयो ।

बाल अधिकार सम्बन्धी सेवा प्रवाहका न्यूनतम सूचकको बारेमा जानकारीका साथै समग्र शासकीय प्रक्रियामा बालबालिकाका सवालहरूलाई आबद्ध गरी नगरपालिकालाई सुशासन तर्फ अभिप्रेरित गर्न सघाउने उहाँको भनाइ थियोे । तालिमले नगर पालिका स्तरीय बालमैत्री शासन समितिको क्षमता विकास गर्ने उदेश्य रहेको बाल संरक्षण अधिकृत विनोद थापाले बताउनु भयो ।
पहिलो चरण अन्तर्गत २०८१ साल भित्र जयपृथ्बी नगरपालिका वडा नम्बर ११ र ६ लाइ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिने लक्षय लिइएको छ । प्रगतिशील युवा समाज का सहसचिव प्रबीन्द्र धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख चेतराज बजाल रहनुभएको थियो ।
उक्त तालिममा वडा अध्यक्षहरू ,कार्यपालिका सदस्य , प्रमुख प्रशासकीय अधिकृत अम्मर राज जोशी,बाल संरक्षण समितिका पदाधिकारी प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लबराज जोशी लगाएतको सहभागीता रहेको थियो ।
तालिममा प्रशिक्षण वीरेन्द्र खड्रकाले गर्नुभएको थियो । साथै तालिमको अन्तिम दिन बालमैत्री स्थानीय शासन राष्ट्रिय सन्जालका संयोजक अशोक खनाल र वल्ड भिजन ईन्टरनेस्नल नेपालका मुकेश पन्तले पनि भर्चुअल रूपमा कक्षाहरू सञ्चालन गर्नुभएको थियो ।































