
बैतडी:बैतडीका दुई स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति,कार्यक्रम र बजेट ल्याएका छन्। जिल्लाकाे सिगास गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड ४२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयाे ।

गाउँसभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष धाना धामीले प्रस्तुत गरेर बजेट सभाबाट पारित भएको हाे।
पारित बजेट गाउँपालिकाभित्रका सडकलाई स्तरोन्नती गर्ने कामलाई प्राथमिकता दिने, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई सुधार गर्ने, संस्थागत सुशासनको क्षेत्रलाई विस्तार गर्ने लगायतका योजनामा केन्द्रित रहेको जनाएको छ।




यस्तै गाउँपालिका अध्यक्ष हरिसिंह धामीले सभामा पेश गरेको नीति तथा कार्यक्रम पनि पारित भएको छ । सिगास गाउँपालिकाको समग्र विकासका लागि नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयाे ।
यस्तै गाउँसभामा चालु आर्थिक बर्षमा बिषयगत समितिहरुले गरेको कामहरुको प्रगति प्रतिवेदन पेश गरिएको छ । यस्तै न्यायिक समितिले चालु आर्थिक बर्षमा सम्पादन गरेका कामहरुको प्रतिवेदनमा पनि सभामा पेश भएको छ ।

जिल्लाकाे मेलौली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड बढीको अनुमानित बजेट नगरसभामा पेश गरेको छ । १४ औं नगरसभाको पहिलो बैठकमा नगर प्रमुख भीमबहादुर चन्दले आगामी आर्थिक बर्षका लागि ४९ करोड ५ लाख ९५ हजार बराबरको अनुमानित बजेट पेश गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी दिनुभयाे ।
आगामी आर्थिक बर्षका लागि राजस्व बाँडफाँड संघतर्फ ९ करोड ४९ लाख, राजस्व बाँडफाँड प्रदेशतर्फ ४३ लाख ६८ हजार, बित्तीय समानीकरण अनुदान संघतर्फ ९ करोड १६ लाख, बित्तीय समानीकरण अनुदान प्रदेशतर्फ ७८ लाख ८६ हजार, सशर्त अनुदान संघतर्फ २४ करोड ४८ लाख ४१ हजार, बिशेष अनुदान संघतर्फ १ करोड, बिशेष अनुदान प्रदेशतर्फ ८५ लाख, समपूरक अनुदान प्रदेशतर्फ ९५ लाख, सडकबोर्ड नेपाल पूँजीगततर्फ ४० लाख र आन्तरिक आम्दानी ५० लाख रुपैयाँ अनुमानित बजेट बिनियोजन गरिएको छ ।
सभामा पेश भएको बजेटमाथि थप छलफल गरेर संशोधनसहित पारित हुनेछ ।
यस्तै यसअघि नगरसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पनि पेश गरिएको छ । नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिएको छ । नीति तथा कार्यक्रम र बजेटमा आएका सुझावहरुलाई समेत समेटेर नगरसभाको अर्को बैठकले पारित गर्ने मेलाैली नगरपालिकाका उपप्रमुख पार्वती बाेहरा विष्टले जानकारी दिनुभयो ।
जिल्लाका अन्य स्थानीय तहहरूले पनि नीति,कार्यक्रम र बजेट ल्याउने तयारी गरेका छन्।


































