अछामको बुढीगंगा नदीमा पानीको वहाब बढ्यो ! ठाउँ ठाउँमा पहिरो र खोला आउदा सडक अबरुद्ध

Image
Nisarga Hospital

अछाम : बिहीबारदेखि लगातार परेको वर्षाका कारण बुढीगंगा नदीमा पानीको वहाब बढेको छ । निरन्तर परिरहेको वर्षाका कारण बुढीगंगा, छिपेखोला, प्रभाली खोलामा पानीको सतह ह्वात्तै बढेको हो ।

CP Hospital Dhangadhi

खोलामा बाढी आएसँगै आसपासका बस्तीहरु र खेतीयोग्य जमिन उच्च जोखिममा परेका छन् भने स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् । हरेक वर्ष वर्षायाम सुरु भएसँगै बुढीगंगा नदी, छिपेखोला र प्रभाली खोलाले बस्ती डुवानमा पार्नुका साथै खेतियाग्य जमिन कटान गर्दै आएको छ । विभिन्न ठाउँका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । साँफेबगरमा रहेको विद्युत प्राधिकरणको कार्यालय डुबानमा परेको छ ।

बुढीगंगा नदी तटीय क्षेत्रका नागरिकहरुलाई सचेत र सुरक्षित रहन सूचना जारी गरेको साँफेबगर नगरपालिकाका मेयर राजेन्द्रबहादुर कुँवरले बताए । उनले भने,‘तीन दिनदेखिको वर्षाले नदीमा बाढी आएको छ,आसपासका स्थानीय बासिन्दाहरुलाई सजग रहन, सुरक्षित ठाउँमा बस्नु भनेर सूचना गरेका छौं ।’

nawajiwan
Attariya Hospital

वर्षाका कारण साँफेबगर–मार्तडी सडक खण्डको बुढाबगरमा पहिरो गएर सडक अबरुद्ध भएको र सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी शिब लम्सालले बताए । उनले भने,‘वर्षाका कारण अधिकाश ग्रामीण सडक बन्द भएका र नदी खोलाहरुमा बाढी आएको सूचना पाएका छौं,जिल्लामा कुनै अप्रिय घटना घटेको छैन,हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै सबै संयन्त्रहरु तयारी अवस्था छन्।’

जिल्ला प्रशासनमार्फत पनि सतर्क र सुरक्षित रहन सबैमा सूचना गरेको प्रजिअ लम्सालले बताए । २०७८ कार्तिक महिनामा आएको बाढीले साँफेबगर नगरपालिका– ४ मष्टामाण्डौको ७४ रोपनी र रिडिकोटमा २८ रोपनी खेतियोग्य जमिन बगाएको थियो । नदीको कटानका कारण साँफेबगर नगरपालिकाको कार्यालय र एयरपोर्ट लगायत सयौं घरहरु समेत जोखिममा रहेका छन् ।