
यहि २०८१ साल श्रावण – ६ गते शुक्ल पूर्णिमाका दिन गुरुपूर्णिमा पनि परेकाे छ । गुरुपूर्णिमाकाे उपलक्ष्यमा समस्त गुरुहरूमा नमन गर्दछु । साथै गुरुपूर्णिमाकाे शुभकामना पनि व्यक्त गर्दछु । पौराणिक कथा अनुसार जगतगुरु भगवान शिवले यहि दिन देखि सप्तऋषिहरुलाई योग सिकाउन थालेका थिए ।

गुरुपूर्णिमाको पर्व नेपालमा मात्र नभई भारत लगायतका अन्य देशहरूमा पनि धुमधामका साथ मनाइन्छ । नेपालमा गुरुपूर्णिमालाई शिक्षक दिवसका रूपमा समेत मनाइन्छ । बुद्ध धर्ममा आस्था राख्नेहरुले भगवान बुद्धको सम्झनामा गुरु पूर्णिमा मनाउँछन् ।
गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन् । उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ ।
द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्र पूर्णिमा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ । संस्कृत भाषामा ‘गु’को अर्थ अन्धकार र ‘रू’को अर्थ नष्ट गर्ने हो । आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ ।
हिन्दू मान्यताअनुसार संगीतलगायत ६४ कला सिकाउने, गायत्री-दीक्षामन्त्र-वेदमन्त्र दिने आचार्य, उमेर-बुद्धि-बल-अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन् । विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो । त्रेता युगमा मर्यादा पुरूषोत्तम रामसहित उनका भाइ र द्वापरमा भगवान् श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेका शास्त्रमा उल्लेख छ । पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए । गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन रहिआएको छ ।
गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले त्यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका छन् । दिनेश भाइकाे जिज्ञासा र मेराे जानकारी अनुसार एकलव्यले गुरु द्राेणाचार्यकाे प्रतिमा बनाइ आफूले विद्या आर्जन गरेकाे र गुरु दक्षिणा स्वरुप द्राेणाचार्यले दायाँ हातकाे बुढी औंला मागेपछि सहजै बुढी औंला दिएका थिए । जब गुरु र चेलाबीचको प्रसंग आउँछ वा आदर्श चेलाको विषयमा चर्चा हुन्छ, एकलव्यको नाम आउँछ । एकलव्य धनु–विद्यामा निपूर्ण थिए । खासमा उनले द्रोणाचार्यलाई गुरु मानेर उनकै प्रतिमा स्थापना गरी धनु विद्या सिकेको थिए । पछि गुरु द्रोणाचार्यले उनलाई गुरु–दक्षिणा स्वरुप बुढी औंला मागे । एकलव्यले गुरुको वचन टार्न सकेनन् ।
उनले आफ्नो बुढी औंला काटेर गुरु दक्षिणा दिए, जबकी धनुष वाण चलाउनका लागि बुढी औंला आवश्यक हुन्छ ।
आजभोलि गुरुपूर्णिमाकाे दिन गुरु प्रति आस्था राख्ने नराख्ने सबैले सामाजिक सञ्जालमा शुभकामना सन्देशहरू पाेष्ट गर्ने गर्दछन् । देखावटी रुपमा मात्र नभएर गुरुहरूकाे मनैदेखि सम्मान गरेमा जीवनका विभिन्न गाेरेटाहरूमा लागेका चट्टान तथा अन्य अवराेधहरू सजिलै विलय भएर जानेछन भन्नेमा विश्वस्त छु । त्यसैले मातापिताको र गुरुकाे सबैले सम्मान गराैं ।
धन्यवाद !!!
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङा)
दार्चुला





























