
गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको छ। इजरायली सेनाले पनि दुई विद्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ। ‘हमासको अल–फुरकान बटालियनले आतंकवादीलाई लुक्ने र कमाण्ड सेन्टरका रूपमा विद्यालय प्रयोग गरिरहेको थियो’, सेनाले विज्ञप्तिमा भनेको छ।

यो आक्रमणसँगै गाजामा जुलाई ६ यता हमला हुने विद्यालयको सङ्ख्या कम्तीमा ११ पुगेको छ। यसमा हमासद्वारा सञ्चालित क्षेत्रका अधिकारीहरूले यसअघि दिएको सङ्ख्याको आधारमा करिब १५० जना मारिएका छन् ।

‘हसन सलामेह नरसंहार र अल–नासर विद्यालयमा भएको बम विस्फोटमा शहीद हुनेको सङ्ख्या ३० पुगेको छ, धेरै घाइते पनि भएका छन्’, नागरिक रक्षाका प्रवक्ता महमुद बासलले भने। मृतक र घाइते हुनेमा अधिकांश महिला तथा बालबालिका छन्। उनले इजरायल र हमास लडाकुहरूबीच चलिरहेको युद्धमा घरबाट विस्थापित प्यालेष्टिनीलाई विद्यालयले आवास प्रदान गरिरहेको बताए।
































